आगलागीबाट एक करोड ७१ लाख क्षति

पाँचथर–सदरमुकाम फिदिम बजारको मेनरोडमा बिहीबार दिउँसो पाँचवटा वटा घरमा आगलागी हुँदा रु एक करोड ७१ लाख ५५ हजार क्षति भएको छ । आगलागीबाट तीवनटा घरमा पूर्ण क्षति र अन्य दुई घरमा आंसिक क्षति भएको थियो ।
 
जिल्ला प्रहरी कार्यालय पाँचथरले तयार पारेको प्रतिवेदनअनुसार इन्द्रकुमारी थापा मगरको काठ र टिनले बनेको दुई तले कच्ची घर र दुईतले पक्की घरको रु ३५ लाख क्षति भएको छ । उक्त घरमा सीता योङहाङले सञ्चालन गरेको सीता होटल र लजमा रहेका सम्पूर्ण सामग्री रु १६ लाख ३० हजार, त्यस्तै रणप्रसाद एकतेन लिम्बूको नगद, क्यामरा र महत्वपूर्ण कागजात जल्दा रु एक लाख ३५ हजार, इन्दु जबेगुले सञ्चालन गरेको स्मा स्टोर्सका सम्पूर्ण सामग्री रु १० लाख ५५ हजार  र भीम केरुङ लत्ताकपडालगायत सामग्री जलेर नष्ट हुँदा रु एक लाख क्षति भएको प्रहरीले जनाएको छ ।

विनाकुमारी थापा मगरको दुईतले काठ र टिनले बनेको कच्ची घरको रु २५ लाख क्षति भएको छ । सोही घरमा तरणीकुमार शाहले सञ्चालन गरेका मिष्ठान्न भण्डार र त्यहाँ रहेका सम्पूर्ण नगद, सुन चाँदीलगायत रु १९ लाख ३८ हजार, सोही घरमा सञ्चालनमा रहेको हरिप्रसाद भट्टराईको रु १० लाख बराबरको फलफूल पसल पूर्णरुपमा जलेर नष्ट भएको प्रहरीले उल्लेख गरेको ।

आगलागीबाट छेउमा रहेको सावित्रा योङहाङको घरको भित्ता र तेस्रो तलाको २५ लाख रुपैयाँ, सोही घरमा सञ्चालनमा रहेको पाँचथर गेष्टहाउसको नौवटा कोठामा रहेको सम्पूर्ण समानको १४ लाख ६० हजार रुपैयाँको क्षति भएको हो ।

आगलागीबाटै नरमाया कार्की ढकालको पक्की घर र घर अगाडि रहेको घुम्ती पसलको रु चार लाख ८० हजार, सोही घरमा रहेको एनएमबी बैंकको सिसिटिभिसहितको उपकरण रु एक लाख ५० हजार र घुम्तीमा गुलाव महम्दले सञ्चालन गरेकोे कस्मेटिक पसलको रु सात लाख सात हजारको क्षति भएको हो ।

बिहीबार दिउँसो १ बजेको समयमा भएको आगलागी नगरपालिकाको बारुडयन्त्र, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीको प्रयासमा करीब डेढ घण्टामा आगो नियन्त्रणमा लिएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?