यो त्यसवेलाको कुरा हो जब दृश्य होइन पललाई क्यामेरामा कैद गरिन्थ्यो, ब्ल्याक एण्ड ह्वाइट तस्वीरले रङ्गीन यादहरुको झझल्को दिलाउँथ्यो । फोटोमा पोज र पोजिसनलाई भन्दा उपस्थितिलाई प्राथमिकता दिइन्थ्यो । डिजिटल युगको आगमनले भलै सबैको हातहातमा क्यामेरा र क्यामेरा भएका सबैलाई क्यामेरापर्सन बनाइदिएको छ तर त्यसवेलाका श्यामश्वेत तस्वीरहरुको ‘चार्म’ लाई आजकलका सेल्फीको क्रेजले शायदै कहिले उछिन्न सक्लान् ।
हो त्यही वेला हातमा सेकेण्ड हयान्ड मिनोल्टा क्यामेरा बोकेर फोटो खिच्न निस्कन्थे विकास । विकासमा फोटोग्राफीप्रतिको रुचिलाई जन्माउने त्यही सेकेन्ड ह्यान्ड मिनोल्टा क्यामेरा हो । भोकाएको मान्छेले जसरी पनि खानाको जोहो गरेरै छाड्छ भनेझैं विकासले पनि फोटोग्राफीको भोकलाई सेलाउन विभिन्न व्यक्ति, पुस्तकको सहारा लिए । त्यसताका नेपालमा फोटोग्राफ्रीका कक्षाहरु सञ्चालन हुन्थेनन् त्यसैले हेरेरै, सुनेर नै विकासको फोटोग्राफीको सिकाइ भयो ।
विकासमा फोटोग्राफीप्रतिको रुचिलाई जन्माउने त्यही सेकेन्ड ह्यान्ड मिनोल्टा क्यामेरा हो । भोकाएको मान्छेले जसरी पनि खानाको जोहो गरेरै छाड्छ भनेझैं विकासले पनि फोटोग्राफीको भोकलाई सेलाउन विभिन्न व्यक्ति, पुस्तकको सहारा लिए । त्यसताका नेपालमा फोटोग्राफ्रीका कक्षाहरु सञ्चालन हुन्थेनन् त्यसैले हेरेरै, सुनेर नै विकासको फोटोग्राफीको सिकाइ भयो ।
कान्तिपुर, काठमाडौं पोस्ट, हिमाल, इन्डिपेन्डेन्टलगायत विभिन्न स्वदेशी तथा विदेशी पत्रिका र समाचार समितिले उनको फोटो किनेको छ । कान्तिपुरको पहिलो अंकको पहिलो पृष्ठमा राखिएको फोटो पनि विकासद्वारा नै खिचिएको हो । २२ वर्ष कान्तिपुर दैनिकमा जुनियर पत्रकारका रुपमा प्रवेश गरेका विकास त्यहीँबाट फोटो सम्पादक भएर बिदाइ भए ।
रहरले फोटो खिच्ने विकासलाई आफ्नो रुचि कुनवेला सपनामा परिणत भयो याद नै छैन । फोटोग्राफी र फोटोपत्रकारिता विल्कुलै फरक कुरा हुन् । यो कुरा बुझेका विकासलाई विस्तारै संसारकै सबैभन्दा प्रिय काम लाग्न थाल्यो फोटो पत्रकारिता । उनलाई अहिले पनि क्यामेराको गुणस्तरभन्दा तस्वीरले बोल्ने आवाज महत्वपूर्ण लाग्छ । क्यामेरा भन्दा क्यामेरापर्सन ‘क्वालिटी’को हुनुपर्ने उनको मान्यता छ ।
पुराना रिल, नेगेटिभ, फोटोहरु विकासको स्टोर रुममा सुरक्षित छन् । उनका लागि ती सामाग्री फगत वस्तु नभएर सम्झनाका साना साना पोका हुन् जसलाई कहिलेकाहीँ फुकाएर फ्लास ब्याकमा पुग्छन् विकास ।
कान्तिपुरबाट रिटायर्ड भएपछि आफ्नै व्यवसायलाई पूरै समय दिइरहेका विकास फुर्सदको समयमा पुराना तस्वीरलाई कोडिङ गरेर नेगेटिभबाट हार्ड डिस्कमा स्थानान्तरण गर्छन् अनि कम्प्युटर स्क्रिनमा हेर्छन् पुराना तस्वीरहरु । समयसँगै जसरी ती फोटाहरु नेगेटिभबाट कम्प्युटरमा सरेका छन् त्यसैगरी फोटो पत्रकारिताको इतिहास कोर्ने पुस्ताबाट विस्तारै जिम्मेवारीको डोरी नयाँ पुस्ताको हातमा सरेको छ । दुवै पुस्तालाई नियाल्न पाएकोमा दङ्ग छन् विकास ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया