राधेलाई किर्ते कागज बनाई  पक्राउ गरेको तरुण दलको आरोप

काठमाडौं । नेपाल तरुण दलले धादिङ जिल्ला उपाध्यक्ष राधाकृष्ण(राधे) भण्डारीलाई बिनाकसुर प्रहरीले पक्राउ गरेको भन्दै तत्काल रिहा गर्न माग गरेको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आज पत्रकार सम्मेलन गरी तरुण दलले किटानी जाहेरी दिएको भनिएका व्यक्तिले होइन भन्दाभन्दै राज्यले नै किर्ते कागज बनाएर भण्डारीलाई फसाउन खोजेको आरोप लगाएको हो । तरुण दलले भण्डारीलाई तत्काल रिहा नगरे देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएको छ ।

तरुण दलका केन्द्रिय अध्यक्ष जितजंग बस्नेतले घटना भएको भनिएको स्थानमा उपस्थित नै नभएको व्यक्तिलाई राजनीतिक प्रतिशोधका कारण मात्र पक्राउ गरिएको आरोप लगाए । कार्यक्रममा भण्डारीविरुद्ध किटानी चाहेरी दिएको भनिएका घाइते जनक मगरले पनि आफूले घटना भएको स्थानमा देख्दै नदेखेको र चिन्दै नचिनेको व्यक्ति विरुद्ध जबरजस्त रुपमा प्रहरीले किटानी जाहेरी लेखेर आफूलाई हस्ताक्षर गर्न लगाएको दाबी गरे ।
यसैगरी  निलकण्ठ नगरपालिकाका मेयर भीम ढुंगानाले किटानी जाहेरी दिएको भनिएका व्यक्तिले नै घटनामा भण्डारीको संलग्नता नरहेको भन्दाभन्दै पनि पक्राउ गर्नु राजनीतिक प्रतिशोध मात्र भएको बताए ।

यही जेठ २२ गते धादिङको रोराङ गाउँपालिकामा स्थानीय बासिन्दाबीच भएको विवादमा भण्डारी पनि संलग्न रहेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।प्रदेश ३ प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गरी स्थानीयलाई धम्क्याएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको जनाएको थियो ।भण्डारी यसअघि प्रहरी इन्काउन्टरमा मरेका गुण्डा नाईके चरीलाई गोली हानेको अभियोगमा केही समय जेल बसेर निस्किएका व्यक्ति हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?