धादिङमा प्रदीप पौडेलको गर्जन, सरकारविरुद्ध खनिए

धादिङ–नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले आफ्नै लगानीमा बुढीगण्डकी बन्न सक्ने स्थिति हुँदाहुँदै चिनियाँ गेजुवा कम्पनीलाई ठेक्का दिनु नै बदनियतपूर्ण रहेको बताएका छन्।

काम थाल्न ढिलाई गरेर लागत बढाउने काम सरकारकै मिलेमतोमा भइरहेको उनको टिप्पणी थियो।

नेपाली कांग्रेस धादिङले राष्ट्रिय जागरण कार्यक्रम अन्तर्गत धादिङबेसीमा शनिबार आयोजना गरेको सभालाई सम्बोधन पौडेलले धादिङबाट जित्ने सांसदहरूले नै यसलाई अनिश्चित बनाइरहेकाले आशंका पुष्टि हुने वातावरण सिर्जना भएको बताए। बुढीगण्डकीलाई गेजुवामुक्त गराए र कमिसनखोरलाई हटाए मात्रै आयोजना निर्माण हुने उनको तर्क थियो।

ओली सरकारले देशलाई अस्थिरता र अशान्तितिर धकेलेको आरोप पौडेलले लगाए। ‘चोरिएको मोटरसाइकल चढेर हिँडेका पार्टी कार्यकर्ताले पनि नेकपाको सदस्यता रसिद देखाएमा प्रहरीले समाउँदैन, उनीहरूले लाइसेन्स र ब्लुबुक होइन पार्टीको सदस्यता रसिद बोकेर हिँडे पुग्छ,’ उनले भने।

पौडेलले ओली सरकार आफ्नै कारणले ढल्ने ठोकुवा गरे। हिमाल, पहाड, तराई, मधेस नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान अन्तर्गत एक महिना लामो पहिलो चरणको कार्यक्रम धादिङमा १ सय ४ वडा, १३ वटा गाउँपालिका र दुई निर्वाचन क्षेत्रमा भेला सम्पन्न गरेपछि कांग्रेसले जिल्लास्तरीय आमसभा आयोजना गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?