छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

लोकपथ
0
Shares

काठमाडौं । विभिन्न स्थानमा सवारी दुर्घटना हुँदा चार जानको मृत्यु भएको छ ।रौतहटको देवाही गोनाही नगरपालिका–४ फुलवरीया टोलस्थित सडकमा सवारी दुर्घटना हुँदा बालिकाको मृत्यु भएको छ ।

प्रदेश २–०३–००१ ख ७०२७ नम्बरको टिपरले ठक्कर दिँदा सोही ठाउँ बस्ने शेख अस्ताककी छोरी ४ वर्षीया खतिजा खातुनको बिहीबार साँझ घटनास्थलमै मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी गुल्मीको रूरूक्षेत्र गाउँपालिका–१ मकर्दीस्थित सडकमा पोखराबाट तम्घासतर्फ जाँदै गरेको लु.१ ख ८१७५ नम्बरको बस सडकबाट करिब ६० मिटर तल खसेर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हाल वतन नखुलेका अन्दाजी ४० वर्षीय युवराज कुँवर रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी मेडिकल कलेज प्रभाष पाल्पामा उपचारको क्रममा बिहीबार दिउँसो मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका बसमा सवार ७ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने ४ जना उपचार पश्चात डिस्चार्ज भएका छन् ।

यसैगरी पर्साको पोखरीया नगरपालिका–९ बैरीयास्थित सडकमा मधेश प्रदेश–०३–०३१ प ९६७५ नम्बरको मोटरसाइकल र ना।२८ प ९४४३ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
ना.२८प ९४४३ नम्बरको मोटरसाइकलमा सवार वीरगंज महानगरपालिका–१९ केहुनिया बस्ने २२ वर्षीय ईरफान मियाँको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि निलकण्ठ अस्पताल वीरगंजतर्फ लैजाने क्रममा बिहीबार राति बाटोमै मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका मधेश प्रदेश–०३–०३१ प ९६७५ नम्बरको मोटरसाइकलमा सवार ३ जनाको नेशनल मेडिकल शिक्षण अस्पताल वीरगंज र ना.२८प ९४४३ नम्बरको मोटरसाइकल चालकको नारायणी अस्पताल वीरगंजमा उपचार भइरहेको छ ।

यसैगरी सिरहाको भगवानपुर गाउँपालिका –२ जनता चोकस्थित सडकमा भगवानपुर चोकबाट सप्तरीतर्फ जाँदै गरेको प्रदेश ०२–०१–००१ ह ०४२३ नम्बरको सिटी रिक्सा अनियन्त्रित भई दुर्घटना हुँदा रिक्सामा सवार एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सप्तरी सुरूङ्गा नगरपालिका–७ पोखरिया बस्ने ४७ वर्षीया दुर्गी पासवानको रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएकी उनको सप्तऋषी अस्पताल लहानमा उपचारको क्रममा बिहीबार दिउँसो मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका रिक्सामा सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । रिक्सा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?