काठमाडौं । चार्टर्ड उडानमार्फत् एकैपटक १८० भियतनामी पर्यटक नेपाल आइपुगेका छन् । रुप्से होलिडेजको समन्वयमा यति धेरै सङ्ख्यामा एकैपटक वुद्धिष्ट पर्यटक नेपाल आइपुगेका हुन् ।
रुप्से होलिडेजका प्रबन्ध निर्देशक रमेश पराजुलीका अनुसार नेपालमा वुद्धिष्ट पर्यटक भित्राउने उद्धेश्यले एकैपटक यति धेरै सङ्ख्यामा भियतनामी धार्मिक पर्यटक नेपाल ल्याइएको हो । उनीहरुलाई वुद्ध धर्मसँग सम्बन्धित काठमाडौं उपत्यकाका विभिन्न धार्मिकस्थल तथा खोटाङको हलेसी मन्दिर समेत लैजाने योजना रहेको छ ।
भियतनामको हानोइ प्राप्तबाट भियतनामीका साथै अन्य देशका पर्यटकलाई पनि नेपाल ल्याइएको हो । उनीहरुलाई स्वयम्भु, वौद्ध स्तुपा, ह्वाइट गुम्बा, फर्पिङ, नमोबुद्ध र पाटनका विभिन्न धार्मिक स्थलको अवलोकन गराउने तयारी छ । काठमाडौंको भ्रमणपछि उनीहरुलाई हलेसी मन्दिरको समेत दर्शन गराएर चार्टर्ड उडानमार्फत् नै भियतनाम फर्काइनेछ ।
७ रात ८ दिनको नेपाल भ्रमणमा रहेका सबैजसो पाँच तारे होटलमा बास बस्ने र उनीहरुबाट पर्यटन क्षेत्रले राम्रो आम्दानी गर्ने अपेक्षा गरिएको छ । लक्जरी यात्रा गर्न रुचाउने भियतनामी पर्यटकहरु यसपटकको उडानमा रहेको रुप्से होलिडेजका प्रबन्ध निर्देशक पराजुलीले बताए ।
यसपटकको चार्टर्ड उडान पूर्णतया धार्मिक पर्यटकका लागि भएको र उनीहरुले नेपालमा वौद्ध शिक्षा र ध्यानका बारेमा बुझ्ने र त्यसैका लागि समय बिताउने बताइएको छ ।
रुप्से होलिडेजले यसभन्दा अगाडि पनि भियतनामी पर्यटकलाई चार्टर्ड उडानमार्फत् नै नेपाल ल्याएको थियो भने नेपाली पर्यटकलाई समेत चार्टर्ड उडानमार्फत् नै भियतनाममा घुमाउने गरेको छ । होलिडेजले ९० हजार नेपाली रुपैयाँमै भियतनाम घुमाउने प्याकेजसमेत तयार पारेको रुप्से होलिडेजले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया