काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्रीलाई विश्वासको मत दिने कुरामा दुईमत नभएको बताएका छन् ।
आज पेसागत महासंघ नेपालको २९औं स्थापना दिवस तथा ‘सहयात्रा’ विमोचन समारोहमा नेपालले आफ्नो पार्टी नै सरकारमा रहेकाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने कि नदिने भन्ने प्रश्नै नउठ्ने बताए ।
अध्यक्ष नेपालले भने, ‘भोली नै प्रधानमन्त्रीले विश्वासको मत लिने कुरा पनि चलेको छ, हामी यो सरकारमा सहभागी छौं । त्यसकारण हामीले विश्वासको मत दिने नदिने कुरामा प्रश्न उठाउने कुरा नै हुँदैन । कसैले पनि यसमा शंका नगरे हुन्छ । यो सरकारलाई हाम्रो विश्वासको मत प्राप्त हुनेछ ।’
नीति तथा कार्यक्रमको सन्दर्भमा संसदमा छलफलको ढोका नखोल्दा संवैधानिक जटिलताहरु खडा हुने भन्दै सहमतिको बुँदामा पुग्न आवश्यक भएको नेपालले बताए ।
‘आजै संसद अवरोधको बारेमा प्रधानमन्त्रीसँग मेरो कुराकानी भयो । यो अवरोध हटाउने कुरामा रास्वपाका नेताहरुसँग पनि मैले कुरा गरें, नेपाली काङ्ग्रेससँग पनि कुरा भयो । यो अवरोध हटाउनु सबैको हितमा हुन्छ, सहमतिको बुँदामा पुग्नु आवश्यक छ । नभए त हामी ठूलो संकटमा पर्छौं । नीति र कार्यक्रमको सन्दर्भमा संसदमा छलफल गर्ने ढोका नखोल्दा के-के संवैधानिक जटिलता खडा हुन्छ । यसलाई पनि ध्यानमा राख्नुपर्ने हुन्छ’ पूर्व प्रधानमन्त्री नेपालले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया