काठमाडौं । रौतहटबाट संगठित अपराध, अपहरण तथा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रौतहट गौर नगरपालिका–५ बस्ने ५८ वर्षीय राजु मिश्र रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहट गौरबाट खटिएको प्रहरी टोलीले मंगलबार बिहान सोही नगरपालिका– १ स्थित नेपाल भारतको बोर्डर भन्सार नजिकबाट मिश्रलाई पक्राउ गरेको हो ।
२०७८पुस २० गते जाहेरवाला गौर नगरपालिका–३ बस्ने रामाशंकर प्रसाद जैसवालको छोरा २७ वर्षीय रोहित कुमार जैसवाललाई मिश्र समेतले फिरौती रकम माग गर्ने उद्देश्यले झुक्काई अपहरण गरेको प्रहरीले जनाएको छ ।
उनले भारतको बैरगिनियामा लगि जैसवालको हत्या गरी जुटको बोरामा हालेर नन्दवारा पुल मुनि फालेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेकोे छ ।
सोहि मुद्दामा रौतहट जिल्ला अदालतबाट वारेन्ट सहितको पक्राउ पुर्जी समेत जारी भएको मिश्रलाई पक्राउ गरी आवश्यक कारबाहीको लागि जिल्ला सरकारी वकिल कार्यालय रौतहट मार्फत जिल्ला अदालतमा पठाईएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया