काठमाडौं । बैंकिङ कसूर मुद्दाका दुईजना फरार प्रतिवादी पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा दोलखा तामाकोशी गाउँपालिका–१ घर भई ललितपुर महालक्ष्मी नगरपालिका–५ टिकाथली बस्ने ४१ वर्षीय ईश्वर प्रसाद काफ्ले र रौतहट फतुवाविजयपुर नगरपालिका–११ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका–७ बस्ने ३८ वर्षीय राजेन्द्र क्षेत्री खरेल रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई बुधबार पक्राउ गरेको हो ।
उच्च अदालत पाटनको फैसलाले बैंकिङ कसूर मुद्दामा ईश्वर प्रसादलाई ३२ लाख २० हजार रूपैयाँ विगो वापतको रकम, १८ दिन कैद र १ लाख २८ हजार ८ सय रूपैयाँ जरिवाना तथा राजेन्द्र क्षेत्रीलाई ३७ लाख रूपैयाँ विगो वापतको रकम, १७ दिन कैद र १ लाख ५८ हजार २ सय ८० रूपैयाँ जरिवाना सजाय ठहर भएको थियो ।
पक्राउ पश्चात उनीहरूलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं बबरमहल पठाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया