काठमाडौं । विभिन्न स्थानमा सवारी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।
कञ्चनपुरको बेदकोट नगरपालिका–१० सिसैयास्थित सडकमा सुदूरपश्चिम प्रदेश ०२००१ क ५१४ नम्बरको टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । सोही नगरपालिका–६ बस्ने ५२ वर्षीय काले सुनारको शनिबार बेलुकी घटनास्थिलमा नै मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी झापाको मेचिनगर नगरपालिका–१२ कालिझोडास्थित सडकमा मे.१ ख ३२५१ नम्बरको बसले प्र.१–०१–०१४ प ८७८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका–१० बस्ने ५२ वर्षीय नेत्र प्रसाद परियार रहेका छन् । दुर्घटनाबाट गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोड उपचारको क्रममा शनिबार बेलुकी मृत्यु भएको हो ।
उक्त स्थानमा मे.११ प २०२८ नम्बरको मोटरसाइकल र प्र.१–०१–०१४ प ८७८२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा सडकमा लडेका नेत्र प्रसादलाई उक्त बसले ठक्कर दिएको थियो । दुर्घटनामा घाइते भएका मे.११ प २०२८ नम्बरको मोटरसाइकलमा सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यसैगरी डडेलधुराको गन्यापधुरा गाउँपालिका देउपाल सामुदायिक वनस्थित सडकमा बागमती प्रदेश ०१ ००४ क २२५३ नम्बको टिपर सडकबाट करिब ५ सय मिटर तल खसेर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा अमरगढी नगरपालिका–१ बण्ड बस्ने २२ वर्षीय केशव ऐर रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको डडेल्धुरा अस्पतालमा उपचारको क्रममा शनिबार राति मृत्यु भएको हो । टिपर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यसैगरी सप्तरीको कंचनरूप नगरपालिका–३ सुवाटोलस्थित सडकमा स.१ त ६२९५ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टरमा सवार हाल नाम, थर, वतन नखुलेका २ जनाको मृत्यु भएको छ । दुर्घटनमा गम्भीर घाइते भएका उनीहरूको गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा उपचारको क्रममा शनिबार राति मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका २२ जनामध्ये २ जनाको सोही अस्पतालमा, १२ जनाको गोल्डेन अस्पताल बिराटनगर मोरङमा र ८ जनाको धर्मेश्वर अस्पताल ठेलियामा उपचार भइरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया