मधेस प्रदेश सरकारबारे लोसपा अनिर्णीत, ‘पर्ख र हेर’को अवस्थामा

लोकपथ
175
Shares

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले मधेस सरकारको बारेमा तत्कालै कुनै निर्णय नलिने निर्णय गरेको छ । आइतबार बसेको लोसपा पदाधिकारी बैठकले केही निर्णय लिनुपर्ने भएमा त्यसको जिम्मेवारी अध्यक्षजी महन्थ ठाकुरलाई दिएको छ ।

लोसपाका महासचिव मनिष मिश्रले आजको बैठकमा मधेस प्रदेशको सरकारलगायतका विषयमा छलफल भएकोे बताए । उनले मधेस प्रदेशमा कुन गठबन्धनलाई साथ दिने भन्नेबारे हालसम्म कुनै निर्णय नभएको बताए ।

मधेस प्रदेशमा अहिले जसपा नेपालका सरोज यादव मुख्यमन्त्री छन् । सरकारमा सहभागी दलहरु एमाले र माओवादीले सरकारबाट बाहिरिँदै विश्वासको मत पनि फिर्ता लिएकाले उनले जेठ २३ गते विश्वासको मत लिने तयारी गरेका छन् । जसपा नेपालले मधेस प्रदेशलाई आफ्नो प्रतिष्ठाको विषय बनाउँदै आएको छ । त्यसैले आफू नेतृत्वको सरकार जोगाउन जसपा नेपालले छलफललाई तिब्रता दिइरहेको छ ।

मधेस सरकारको नेतृत्व गरेको दल जसपा नेपालले मुख्यमन्त्रीलाई लोसपा नेपालले पनि विश्वासको मत दिने दाबी गरेको छ । उता, सत्ता गठबन्धन एमाले, माओवादी केन्द्र, जनमतले जसपा नेपाल नेतृत्वको सरकारलाई हटाएर केन्द्रकै सत्ता गठबन्धनको नेतृत्वमा बनाउने कसरत गरिरहेका छन् । सो गठबन्धनले पनि आफूहरूलाई लोसपा नेपालको साथ रहने दाबी गरिरहेको छ ।
१०७ सदस्यीय प्रदेशसभामा नयाँ सरकार गठनको लागि ५४ जना प्रदेससभा सदस्यको समर्थन आवश्यक पर्छ ।

प्रदेश सभामा नेकपा एमालेको सभामुखबाहेक २४, जनमत पार्टीका १३, माओवादी केन्द्रका ९, लोकतान्त्रिक समाजवादी पार्टीका ८ र एकीकृत समाजवादीका ७ सांसद छन् । यसैगरी, कांग्रेसका २२ र जसपाका १८ सांसद छन् । तर जसपा विभाजन भइसकेकाले उपेन्द्र यादवसँग मधेस प्रदेशमा कति सांसद छन्, स्पष्ट हुन सकेको छैन ।

कांग्रेस, लोसपा र एकीकृत समाजवादीले साथ दिएको अवस्थामा जसपाको ५६ पुग्छ । त्यसैले लोसपा र एकीकृत समाजवादीको साथबिना सरकार बन्ने अवस्था देखिँदैन ।उता, एमाले र माओवादीले जनमतलाई मुख्यमन्त्री दिनेगरी छलफललाई तिब्रता दिएका छन् ।

उता, एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मधेस प्रदेश सरकारबारे आफ्नो पार्टीले अन्तिम निर्णय गर्न बाँकी नै रहेको बताएका छन् ।एकीकृत समाजवादीसहित ६३ सांसदको हस्ताक्षरसहित जनमत पार्टीले आज आइतबार मुख्यमन्त्रीमा दाबी पेश गर्ने समाचार सार्वजनिक भइरहेको बेला अध्यक्ष नेपालले सो कुरा बताएका हुन् ।

एकीकृत समाजवादीका अध्यक्ष नेपालले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पनि भेटवार्ता गरेका छन् । प्रधानमन्त्रीसँगको भेटबारे बोल्दै नेपालले भने, ‘वार्ता र संवादहरू भइरहेका छन् । ती वार्ता र संवाद सकारात्मक छन्, अहिले भर्खर पनि म प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेर यहाँ आएको छु । तर अन्तिम निर्णय गर्न बाँकी नै छ ।’

उनले आफूहरू केन्द्र सरकारमा पनि रहेको र मधेसमा पनि पहिलादेखि नै सरकारमा रहेको र त्यसैलाई निरन्तरता दिइरहेको बताए । नेपालले केही दिनअघि पनि प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका थिए । उनले भने, ‘अस्ति मात्र एमाले र माओवादी केन्द्रसँग वार्ता र संवाद भयो । वार्ताको क्रम चलिरहेको छ ।’

उनले वार्ताकै सिलसिलामा केही दिनअघि प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवाको निवासमा पनि अन्य दलका नेतासँग कुराकानी भएको बताए । देउवासँगको छलफल गर्ने क्रममा आफूले प्रधानमन्त्री प्रचण्डलाई पनि सोधेको र त्यसक्रममा प्रधानमन्त्रीले छलफल गरे पनि कमिटमेन्ट नगर्न भनेकाले कमिटमेन्ट नगरेको बताए । ‘कमिटमेन्ट फाइनल नगरिदिनुहोला भनेर प्रचण्डले भन्नुभयो’, अध्यक्ष नेपालले भने, ‘यसरी नै संवाद र छलफल भइरहेको छ । संवादमा विश्वास चाहिन्छ । विश्वासको आधारमा सहमति हुन्छ’, नेपालको भनाइ छ । उनले आफ्नो पार्टीमा सरकारबाट हटौँ र नहटौँ भन्ने दुवै मत रहेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?