सशस्त्रद्वारा गठित डेडिकेटेड मनसुन प्रतिकार्य टोलीले कसरी काम गर्छ ?

लोकपथ
504
Shares

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले २४सै घण्टा तैनाथ रहने गरी विपद् व्यवस्थापन तालिम प्राप्त डेडिकेटेड मनसुन प्रतिकार्य टोली गठन गरेको छ । मनसुनको समयमा बाढी, पहिरो, डुवान एवं विपदमा परेकाहरुको तत्कालै उद्धारका लागि सशस्त्रले मनसुन प्रतिकार्य टोली गठन गरेको हो ।

बाहिनी, शिक्षालय तथा गणमा सिनियर अफिसरको कमाण्डमा एक प्लाटुन, गुल्महरुमा सिनियर अफिसरको कमाण्डमा माईनस प्लाटुन र अन्य युनिटहरुमा १ सेक्सनको नफ्रिमा उपलब्ध स्रोतसाधनसहित मनसुन प्रतिकार्य टोली गठन गरिएको सशस्त्र प्रहरी बलका केन्द्रीय सहप्रवक्ता एवं सूचना शाखा प्रमुख डीएसपी शैलेन्द्र थापाले बताए ।

उनका अनुसार, प्रदेशस्थित सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरी, नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी, नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्की, नं. ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देही, नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेत, नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीले ७/७ प्लाटुन, नं. ३ गढिमाई बाहिनी मुख्यालय मकवानपुरले ५ र नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौंले ३ प्लाटुन जनशक्ति चौविसै घण्टा खटाउन सक्ने गरी तयारी हालतमा राखेका छन् । सबै बाहिनीका गरी ५० वटा टोली अहिले विपद प्रतिकार्य र विपद् जोखिम न्यूनीकरण सचेतनाका लागि फिल्डमा खटाइएको छ ।

डेडिकेटेड मनसुन प्रतिकार्य टोलीले प्रदेश, जिल्ला तथा स्थानीय तहहरुमा रहेका आपतकालीन कार्य सञ्चालन केन्द्र, विपद् व्यवस्थापन समिति एवं अन्य विपद् व्यवस्थापनसँग सम्बद्ध सम्पूर्ण सरोकारवाला निकायहरुसँग समन्वय र सहकार्यमा विपद् व्यवस्थापन प्रतिकार्य गर्नेछ ।

सो टोलीले आफ्नो जिम्मेवारी इलाकामा पर्ने जोखिमयुक्त स्थान तथा बस्तीलगायत अन्य महत्वपूर्ण संरचना जस्तै पुल, कल्भर्ट राजमार्ग, लोकमार्ग आदिको पहिचान गरी विपदको समयमा तुरुन्त उद्धार तथा परिचालन हुन सक्ने व्यवस्था समेत मिलाएको छ । साथै बाहिनी मुख्यालय, शिक्षालय, गण र गुल्महरुमा सिनियर अधिकृतको कमाण्डमा र बीओपी तथा बेशहरुमा जुनियर अधिकृतको कमाण्डमा विपद व्यवस्थापन सेल गठन गरी सम्पर्क अधिकृतको व्यवस्था समेत मिलाइएको छ ।

यसका साथै सशस्त्र प्रहरी बल नेपालका कार्यालयमा रहेका हेभि इक्युमेन्टहरु, डिजास्टर रिलिफ सिस्टम कन्टेनर र मास क्याज्यूल्टी भेहिकलसमेत तयारी हालतमा राखिएको छ । बाढी, पहिरो, डुवानका घटनाहरुलाई लक्षित गरी सबै बाहिनी मुख्यालयहरुले मातहतलाई समेटी मनसुनजन्य विपद प्रतिकार्य पूर्व अभ्याससमेत सञ्चालन गरेका थिए । यसका साथै जोखिमयुक्त ठाउँहरुमा विपद सचेतना कार्यक्रमसमेत सञ्चालन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?