वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने तीनजना पक्राउ

लोकपथ
119
Shares

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाईदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जना पक्राउ परेका छन् । प्रहरीले उनीहरुलाई काठमाडौंको छुट्टाछुट्टै स्थानबाट सोमबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रूकुम पश्‍चिम चौरजहारी नगरपालिका–१ घर भई हाल काठमाडौं महानगरपालिका–३ सुकेधारा बस्ने ३९ वर्षीय रूपेश राज गिरी, स्याङजा आँधिखोला गाउँपालिका–६ घर भई हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका–१० बस्ने ४५ वर्षीय राजु ढकाल र धनुषा औरही गाउँपालिका–४ घर भई काठमाडौं महानगरपालिका–३२ तिनकुने बस्ने २२ वर्षीय युवराज ठाकुर रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले रूपेश राजलाई काठमाडौं आलोकनगरबाट, राजुलाई काठमाडौं नागपोखरीबाट र युवराजलाई काठमाडौं तिनकुनेबाट पक्राउ गरेको हो ।

पक्राउ परेका मध्ये रूपेशले रोमानिया पठाईदिन्छु भन्दै पीडितहरूबाट ८ लाख रूपैयाँ, राजुले दुबई पठाईदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ५० हजार रूपैयाँ र युवराजले पोल्याण्ड पठाईदिन्छु भन्दै पीडितहरूबाट ८ लाख रूपैयाँ ठगी गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ ।

उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?