देशका विभिन्न स्थानमा सवारी दुर्घटना हुँदा ६ जनाको मृत्यु

लोकपथ
63
Shares

काठमाडौं । देशका विभिन्न स्थानमा सवारी दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

कैलालीको घोडाघोडी नगरपालिका–४ भालुफाँटास्थित सडकमा म.प्र.०३–००२ ख ००११ नम्बरको ट्रक र सु.प.प्र.०१–०११ प ४४४३ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा घोडाघोडी नगरपालिका–१ बस्ने २३ वर्षीय कमल तिरूवा रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको घोडाघोडी अस्पताल सुखड हुँदै निसर्ग अस्पताल धनगढीमा थप उपचारको क्रममा मंगलबार राति मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी कैलालीकै चुरे गाउँपालिका–३ भक्तपुरस्थित सडकमा भे.२ त १५१६ नम्बरको ट्याक्टरलाई सु.प.प्र.०१००२ त ५२७८ नम्बरको ट्याक्टरले ठक्कर दिँदा भे.२ त १५१६ नम्बरको ट्याक्टर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा डोटी जोराईल गाउँपालिका–४ बस्ने २० वर्षीय हेमन्त रावल रहेका छन् । रावलको मंगलबार दिउँसो घटनास्थलमै मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका भे.२ त १५१६ नम्बरको ट्याक्टरमा सवार २ जनालाई उपचारको लागि मायामेट्रो अस्पताल धनगढी पठाइएको छ । सु.प.प्र.०१००२ त ५२७८ नम्बरको ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै सर्लाहीको हरिवन नगरपालिका–१० सुखे पोखरीस्थित सडकमा ना.६ ख ४९८९ नम्बरको ट्रकले ना.६४ प ६०२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । बागमती नगरपालिका–२ डुमरी टोल बस्ने २० वर्षीय दिपशरण चालिसेको मंगलबार राति घटनास्थलमै मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी सर्लाहीकै बागमती नगरपालिका–१ मिलनचोकस्थित सडकमा बा.९१ प९३६२ नम्बरको मोटरसाइकल मंगलबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बारा कोल्हबी नगरपालिका–१ बस्ने ६५ वर्षीय निल बहादुर प्रसाई रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको जयन्ती अस्पताल नयाँरोड हुँदै एलएस न्यूरो बारामा थप उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको हो ।

त्यसैगरी डोटीको जोरायल गाउँपालिका–१ खडिनास्थित सडकमा दार्चुलाबाट धनगढीतर्फ जाँदै गरेको सु.प.प्र.०१ ००१ ज १४८९ नम्बरको जिप अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ३५ वर्षीया महिलाको घटनास्थलमै मृत्यु भएको हो भने सोही दुर्घटनाबाट गम्भीर घाइते भएकी दार्चुला लेकम गाउँपालिका–६ बस्ने २६ वर्षीया भावना ओड पार्कीकी छोरी ३ वर्षीया रितिका पार्कीको निसर्ग अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।

सडकबाट करिब ९० फिट तल खसेर बुधबार बिहान दुर्घटना हुँदा जिपमा सवार २ जनाको मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका जिपका चालकसहित ७ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?