अग्नि सापकोटालाई पक्राउ गरी अनुसन्धान गर्नेसम्बन्धी मुद्दामा असार १२ गते निर्णय सुनाइने

लोकपथ
350
Shares

काठमाडौं । माओवादी केन्द्रका नेता तथा पूर्व सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दामा असार १२ गते निसु तोकिएको छ ।

बुधवार प्रधानन्यायाधीशसहितको संवैधानिक इजलासले उक्त मुद्दाको सुनुवाइ सकी असार १२ गतेका लागि निसु (निर्णय सुनाउने) मिति तोकेको हो ।

२०६२ वैशाख १६ गते माओवादीको अपहरणमा परेका काभ्रेका अर्जुन लामालाई माओवादीले यातना दिएर मारेको प्रहरीमा जाहेरी छ । उक्त हत्यामा पूर्व सभामुख अग्निप्रसाद सापकोटा, माओवादी केन्द्रका नेता सूर्यमान दोङ, भोला अर्याल, कर्नाखर गौतम, यादव पौडेल र नोर्बु मोक्तान संलग्न रहेको जाहेरीमा उल्लेख छ ।

मृतक अर्जुन लामाकी पत्नी पूर्णिमाया लामाले दिएको जाहेरी प्रहरीमा दर्ता भएपनि आरोपित हरुलार्य पक्राउ गरी अनुसन्धान गरिएको छैन । आरोपितहरूलाई पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै पूर्णिमायाले सर्वोच्च अदालतमा निवेदन दिएकी थिइन् ।

सरकारले भने द्वन्द्वकालीन मुद्दाहरू सत्य निरूपण तथा मेलमिलाप आयोगमार्फत टुङ्ग्याउने र गम्भीर मानव अधिकार उल्लंघनका घटनाका सम्बन्धमा विशेष अदालत गठन गरी अभियोजन र फैसला गर्ने भन्दै द्वन्द्वकालीन मुद्दालाई अन्य फौजदारी मुद्दासरह हेर्न नहुने भन्दै जाहेरी तामेलीमा राखेको थियो ।

पछि सर्वोच्च अदालतको आदेशबाट जाहेरी तामेलीबाट जागेको भएपनि अनुसन्धान र अभियोजन नभएपछि पूर्णिमाया सर्वोच्च अदालत पुगेकी थिइन् । सर्वोच्च अदालतले द्वन्द्वकालीन घटनालाई कसरी हेर्ने भनी व्याख्या गर्न संवैधानिक इजलासबाट हेर्ने गरी आदेश गरेको थियो । २०६९ मंसिर ७ गते दर्ता भएको उक्त मुद्दा १२ वर्षपछि बुधवार सुनुवाइ सकिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?