काठमाडौं । भारतमा नेशनल डेमोक्रेटिक अलायन्स (एनडिए) का दुई प्रमुख दल जनता दल (युनाइटेड) र तेलेगु देसम पार्टी (टिडिपी) ले नरेन्द्र मोदीकै नेतृत्वमा सरकार बनाउन लिखित सहमति जनाएको भारतीय समाचार संस्था एनडीटीभीले जनाएको छ ।
एनडिए गठबन्धनमा प्रमुख घटकको रूपमा देखिएका जनता दलका प्रमुख नितिश कुमार र टिडिपीका प्रमुख चन्द्रबाबु नायडुले एनडिए अलायन्स छाड्ने चर्चा भइरहेको बेला उनीहरुले मोदीकै नेतृत्वमा सरकार बनाउन लिखित सहमति गरेका हुन् । नयाँ दिल्लीमा बुधबार साँझ भएको एनडिए बैठकमा यो सहमति भएको हो ।
भारतीय जनता पार्टी (भाजपा) एक्लैको बहुमत नआएपछि दुई प्रमुख दलको समर्थनमा मोदी नेतृत्वको गठबन्धनको सरकार बन्न लागेको हो । मंगलबार सार्वजनिक भएको मतपरिणामअनुसार, जनता दलले १२ र टिडिपीले १६ सिटमा जितेको थियो । यी दुई दलको सहमतिबिना एनडिए गठबन्धनबाट मोदी नेतृत्वको सरकार सम्भावना थिएन । साथै विपक्षी गठबन्धन इन्डियाले पनि नितिश कुमार र नायडूलाई आफ्नो पक्षमा तानेर सरकार बनाउने तयारी गरिरहेको बताइएको थियो ।
निर्वाचनमा इन्डिया गठबन्धनले २३२ सिट जितेको छ । यी दुई दलले समर्थन गरेको अवस्थामा केही साना दललाई समेटेर इन्डिया गठबन्धनले सरकार बनाउन सक्ने चर्चा पनि चलेको थियो । भारतमा सरकार बनाउन बहुमतका लागि २७२ सिट चाहिन्छ ।
मोदी यसअघि सन् २०१४ र २०१९ मा प्रधानमन्त्री नियुक्त भएका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया