काठमाडौं । छुट्टाछुट्टै स्थानबाट अवैध लागुऔषधसहित चारजना पक्राउ
सुनसरको धरान उपमहानगरपालिका–१७ लोकप्रिय मार्गबाट नियन्त्रित लागुऔषध ट्रामाडोल १ हजार २ सय क्याप्सुल र ब्राउनसुगर १२ ग्रामसहित सोही ठाउँ बस्ने ३७ वर्षीय भुपाल न्यौपानेलाई बिहिवार दिउँसो प्रहरीले पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले उनको घर तलासी गर्दा उक्त लागुऔषध फेला पारी पक्राउ गरेको हो ।
यसैगरी मोरङको सुन्दरहरैचा नगरपालिका–१२ सुकुना चोकबाट अवैध लागुऔषधसहित दुईजना पक्राउ परेका छन् । ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ६० मिलिग्रामसहित बेलबारी नगरपालिका–२ बस्ने २४ वर्षीय दाबुद मोहमदलाई बिहिवार दिउँसो प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय विराटचोक र इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरी सोधपुछ गर्दा उक्त पदार्थ चोकस्थित विश्वास उपचार क्लिनिकबाट खरिद गरेको खुल्न आएको थियो ।
उक्त क्लिनिकलाई जाँच गर्ने क्रममा क्लिनिकबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ८० मिलिग्रामसहित क्लिनिक सञ्चालक भारत कलकत्ता घर भएका २५ वर्षीय नयन विश्वासलाई समेत प्रहरीले पक्राउ गरेको हो ।
त्यस्तैगरी झापाको दमक नगरपालिका–४ वेतिनी टोलबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ ग्राम ५ सय ३० मिलिग्राम र नगद ३ लाख ३६ हजार ४ सय रूपैयाँसहित एकजना पक्राउ परेका छन् । सोही ठाउँ बस्ने ४८ वर्षीया गायत्रा गौतमलाई बिहिवार दिउँसो प्रहरीले पक्राउ गरेको हो । लागुऔषध नियन्त्रण ब्यूरो काकडभिट्टा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया