क्रिकेटर सन्दीप लामिछाने टी-२० वर्ल्डकपमा सहभागी हुन वेस्ट इन्डिज जाने

लामिछाने वेस्ट इन्डिजमा हुने दक्षिण अफ्रिका तथा बंगलादेशविरुद्ध नेपालका दुई खेलमा समावेश हुने छन्

लोकपथ
1.4k
Shares

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने टी-२० वर्ल्डकपमा सहभागी हुन वेस्ट इन्डिज जाने भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले सोमाबार एक विज्ञप्ति जारी गर्दै आईसीसी पुरुष टी-२० विश्वकपमा सन्दीप लामिछाने वेस्ट इन्डिजमा हुने खेलहरूमा नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश हुने जानकारी दिएको हो । लामिछाने वेस्ट इन्डिजमा हुने दक्षिण अफ्रिका तथा बंगलादेशविरुद्ध नेपालका दुई खेलमा समावेश हुने छन् ।

‘जारी आईसीसी पुरुष टी-२० विश्वकप २०२४ का लागि नेपाली खेलाडी सन्दीप लामिछाने वेस्ट इन्डिज प्रस्थान भई नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश हुने जानकारी गराउन चाहन्छौँ । सम्मानित उच्च अदालत पाटनले गत मे १५ मा दिएको फैसलासँगै नेपाल क्रिकेट संघले पूर्व घोषित टिमबाट युवा बलर प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राख्ने निर्णय गर्दै सन्दीप लामिछानेलाई विश्वकप खेल्ने आधिकारिक १५ जना टोलीको अन्तिम नामावली आईसीसी सामु पेश गरेको थियो,’ सचिव पारस खड्काले विज्ञप्तिमा भनेका छन् ।

सन्दीप लामिछाने गत मे १६ तारिखदेखि नै नेपालको आधिकारिक टोलीमा रहेको क्यान जारी विज्ञप्तिमा उल्लेख छ । साथै, सन्दीप लामिछानेको भिसासँग सम्बन्धित क्यान प्रति लक्षित नकारात्मक वक्तव्यबाजी सत्य नरहेको समेत क्यानले जनाएको छ ।

‘यस्ता अनावश्यक र आधारहीन वक्तव्यबाजीतर्फ नलागी, नेपाली क्रिकेटका शुभचिन्तक सबैले देखेको हाम्रो नेपाली क्रिकेटको उज्ज्वल भविष्य साकार पार्न यहाँको आफ्नो क्षमताले भ्याएसम्म स(साना भए पनि सकारात्मक टिप्पणीसहित प्रयास र पहल गरिदिनुहुने हार्दिक आह्वान गर्न चाहन्छौँ । नेपाली क्रिकेटका सम्पूर्ण समर्थकहरूलाई, व्यक्तिगत तथा राजनीतिक लाभका लागि गरिएका फलहीन मिडियाबाजीबाट विचलित नभई नेपाली राष्ट्रिय क्रिकेट टिमलाई यस विश्वकपमा सक्दो हौसला प्रदान गरिदिनुहुन अनुरोध गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?