काठमाडौं । विभिन्न स्थानमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
पर्साको ठोरी गाउँपालिका–५ हुलाकी सडकस्थित बाघमोर्चा पुल नजिक ब्रहमानगरबाट वीरगञ्जतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००२ स ७६४ नम्बरको अटो लोडर र बा.५९ प ६३९२ नम्बरको मोटरासाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गाउँपालिका–२ सुन्दरटोल बस्ने २९ वर्षीय सुन्दर खवास रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको स्पर्श अस्पताल वीरगञ्जमा उपचारको क्रममा मंगलबार दिउँसो मृत्यु भएको हो । अटो लोडर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी पर्साकै पटेर्वासुगौली गाउँपालिका–५ निचुटा र देउरियाको बिच सडकमा मंगलबार दिउँसो बा.१० प ६९८९ नम्बरको मोटरसाइकल ना.२ त ६२३६ नम्बरको ट्याक्टरमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गाउँपालिका–३ सुगौली बस्ने सतेन्द्र दास थारू रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको नारायणी अस्पताल वीरगञ्जमा थप उपचारको क्रममा गएराति मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको द साउथ सिटि हिमालय हस्पिटलमा उपचार भइरहेको छ । उक्त मोटरसाइकल ना.५१ प १२४६ नम्बरको मोटरसाइकलमा ठक्कर खाई पुनस् ट्याक्टरमा ठोकिएर दुर्घटना भएको थियो । ट्याक्टर चालक र ना.५१ प १२४६ नम्बरको मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यसैगरी मकवानपुरको मनहरी गाउँपालिका–७ रमनटारस्थित सडकमा ना.७ ख ८४४९ नम्बरको टिपरले बा.प्र ०२–०३०प १६३१ नम्बरको स्कुटरलाई मंगलबार साँझ ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासी मध्यविन्दु नगरपालिका–१४ बस्ने ४७ वर्षीय दील बहादुर टण्डन क्षेत्री रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले आवश्यक उद्दार कार्य गर्नुका साथै दुर्घटनामा सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया