काठमाडौं । नेपाली कांग्रेसका नेता डा नारायण खड्काले देशमा राष्ट्रिय सरकारको आवश्यकता रहेको बताएका छन् । उनले देशको वर्तमान राजनीति र भूराजनीतिक परिस्थितिलाई ध्यानमा राखेर ठूला दलहरुले गम्भीर रुपमा राष्ट्रिय सरकारको खाका तयार गर्दै स्पष्ट मार्गचित्र तयार गर्नुपर्नेमा जोट दिएका छन् ।
नेता खड्काले नेपाली जनमानसमा असन्तुष्टि बढ्दैगएको र यसले विद्रोहको रुप लिनसक्ने खतरा बढेर गएको बताएका छन् । व्यवस्था परिवर्तन भएर पनि स्थायित्व बन्न नसक्नु र जनताको दैनिक जीवनमा विद्यमान समस्याहरुको समाधान हुननसक्नु सम्भावित विद्रोहको मुख्य कारण रहेको नेता खड्काको भनाई छ ।
‘पहिले जनता निराश भए, निराशा सम्वोधन हुनसकेन । त्यसपछि आन्दोलित भए, व्यवस्था परिवर्तन पनि भयो तैपनि उनीहरुको जीवनमा सरकारको पर्याप्त ध्यान गएन र जननिर्वाचित निकायहरु सक्रिय छन् तर पनि जनता आफ्नो दुखकष्टबाट मुक्त हुन पाएनन् । यही कारण उनीहरु एउटा हिरोको खोजीमा छन्, विद्रोह गर्ने मनस्थितिमा पुगेका छन्’ पूर्व मन्त्री खड्काले विश्लेषण सहित आफ्नो धारणा राखे ।
नेपाली जनताको ‘हिरो’ बन्न राजनीतिमा आएका कतिपय नेता राजनीतिक परिदृश्यमा टिक्न नसकेको टिप्पणी गर्दै नेता खड्काले मुख्य राजनीतिक दलहरु र नेता सत्ता सुविधामै अलमलिँदा देशले निश्चित गति लिन नसकेको विश्लेषण गर्दै जनताले अर्को हिरोको खोजी गरिरहेको बताए ।
‘त्यो ‘हिरो’ को होला, त्यो त समय आएपछि नै थाहा हुने छ’ नेता खड्काले सांकेतिक भाषामा बताए ।
आज बिहान बुढानिलकण्ठस्थित निवासमा सम्वाद गर्दै पूर्व परराष्ट्र मन्त्री खड्काले देशको कुटनीति सञ्चालन अनुभवहीन हातमा पर्ने गरेको र मन्त्री परिषद गठन हुँदा अरुले छानेर बाँकी रहेको कम महत्वको तहमा परराष्ट्र मन्त्रालय रहने गरेको अनुभव पनि सुनाए ।
नेपालमा शक्ति राष्ट्रहरुको चासो र चलखेल, भारत, चीन र अमेरिकाको नेपालसँग रहेको स्वार्थको सम्बन्ध सहित अनेक महत्वपूर्ण बिषयमा नेता खड्काले विस्तारमा चर्चा गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया