सरकारी विद्यालयको अनुदान हेडमास्टर र अध्यक्ष मिलेर अपचलन, नक्कली बिल बनाएर पेस गरेपछि भ्रष्टाचारको मुद्दा

लोकपथ
175
Shares

काठमाडौं । सरकारी विद्यालयमा आएको रकम भ्रष्टाचार गरेपछि विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधवार संखुवासभाको धर्मदेवी नगरपालिका ४ हुम्लिङमा रहेको शारदा माविको हेडमास्टर र विद्यालय व्यवस्थापन समितिका अध्यक्षविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार विद्यालयमा आएको अनुदान रकम विद्यालयका प्रधानाध्यापक कृष्णहरि भट्टराई, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल कुमार अधिकारी, शिक्षक लालबाबु मण्डल र शाक्य अफसेट प्रेसका प्रोप्राइटर केशव कुमार शाक्यमाथि भ्रष्टाचारको मुद्दा दायर गरेको हो । विद्यालयमा पुस्तकालय निर्माण र खानेपानी आपूर्तिका लागि आएको अनुदान रकम सो कार्यमा खर्च नगरी नक्कली बिल भरपाई तयार पारी रकम हिनामिना गरेको पाइएपछि भ्रष्टाचारको मुद्दा दायर भएको हो ।

भएको के थियो ?

संखुवासभा जिल्ला, धर्मदेवी नगरपालिका वडा नम्बर ४ हुम्लिङमा रहेको शारदा माध्यमिक विद्यालयको खानेपानी आपूर्तिको लागि तत्कालीन प्रदेश नम्बर १ सरकार (हालको कोशी प्रदेश) बाट आर्थिक वर्ष २०७५।०७६ ३ लाख ४३ हजार रुपैयाँ निकासा भएको थियो । प्रदेशको सामाजिक विकास मन्त्रालयबाट विद्यालयमा खदानेपानी आपूर्तिका लागि भनी बजेट निकासा भएको भएपनि विद्यालयले खानेपानी आपूर्तिको काम नै गरेन ।

त्यसैगरी आर्थिक वर्ष २०७४।०७५ मा शिक्षा विभागबाट पुस्ताकालय निर्माणका लागि अनुदान स्वरूप ४ लाख ६० हजार ४५५ रुपैयाँ विद्यालयको खातामा पठाइएको थियो । विभागले जिल्ला शिक्षा कार्यालय हुँदै शिक्षा विकास तथा समन्वय इकाईमार्फत विद्यालयको खातामा रकम जम्मा गरेको भएपनि विद्यालयका हेडमास्टर कृष्णहरि भट्टराई, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल कुमार अधिकारी, शिक्षक लालबाबु मण्डल र स्थानीय शाक्य अफसेट प्रेसका सञ्चालक केशव कुमार शाक्य मिलेर नक्कली बिल भरपाई तयार पारी रकम बाँडेर लिएका थिए । अख्तियारका अनुसार पुस्तकालय निर्माणका लागि भनेर आएको रकममध्ये तत्कालीन प्रधानाध्यापक कृष्णहरि भट्टराई र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल कुमार अधिकारीले शाक्य अफसेट प्रेसका प्रोप्राइटर केशव कुमार शाक्यसँग मिलेमतो गरी पुस्तकालयका लागि भनिएको पुस्तक खरिद नै नगरी पुस्तक खरिद गरेको भनी ४ लाख १० हजार ४५५ रुपैयाँको नक्कली बिल भरपाई तयार पारेका थिए ।

साथै उक्त अनुदान रकमको सम्झौता हुनुभन्दा अगाडि नै खरिद गरिएको ल्यापटप समेत पुस्तकालयका लागि खरिद गरिएको भन्ने नक्कली बिल राखेर अनुदानबापतको रकम मिलेमतो गरी खाएको पाइएको हो । त्यसैगरी आर्थिक वर्ष २०७५।०७६ मा प्रदेश नम्बर १ (हालको कोही प्रदेश), सामाजिक सुरक्षा मन्त्रालयबाट शिक्षा विकास तथा समन्वय इकाईमार्फत खानेपानी व्यवस्थापनको लागि भन्दै दिइएको ३ लाख ५.४३ हजार रुपैयाँ पनि उनीहरूले काम नगरी भ्रष्टाचार गरी खाएको अख्तियारको दाबी छ । प्रदेश सरकारसँग सम्झौता गरी निकासा भएको उक्त रकम विद्यालयमा खानेपानीको कुनै प्रबन्ध नगरी विद्यालयको चेकमा अघिल्लो कार्यकालका प्रधानाध्यापक कृष्णहरि भट्टराई र शिक्षक लालबाबु मण्डलको दस्तखत गराएर सोही चेकबाट उक्त खानेपानी व्यवस्थापनको लागि आएको रकम झिकेर मासेको पाइएको हो ।

सो कार्यमा उनीहरू संलग्न भएको पाइएपछि दुई शिक्षक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र निजी छापाखाना सञ्चालकविरुद्ध समेत भ्रष्टाचारको मुद्दा दायर भएको हो । अख्तियारले प्रधानाध्यापक कृष्णहरि भट्टराई र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल कुमार अधिकारीविरुद्ध पुस्तकालय निर्माणका लागि आएको रकममा जनही ४ लाख ६० हजार ४५५ रुपैयाँ र खानेपानी व्यवस्थापनका लागि आएको रकममा जनही ३ लाख ४३ हजार रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै उनीहरुको हकमा जनही ८ लाख ३ हजार ४५५ रुपैयाँ बिगो कायम गरी भ्रष्टाचारको मुद्दा दायर गरिएको छ ।

त्यसैगरी खानेपानीका लागि आएको रकम दुरुपयोगमा सहयोगी बनेको भन्दै शिक्षक लालबाबु मण्डलविरुद्ध ३ लाख ४३ हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचारको मुद्दा दायर गरिएको छ । यता पुस्तक विक्री नै नगरी पुस्तकालयका लागि पुस्तक दिइएको भन्दै नक्कली बिल जारी गर्ने शाक्य अफसेट प्रेसका सञ्चालक केशव कुमार शाक्यविरुद्ध ४ लाख १० हजार ४५५ रुपैयाँ बिगो कायम गरी भ्रष्टाचारको मुद्दा दायर गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?