काठमाडौं । राजश्व अनुसन्धान विभागले अनुसन्धान सुरु गरेको एनक्यु ट्याक्स घोटालामा एयरलाइन्स कम्पनीहरूले असहयोग गरेका छन् । विभागले सम्बन्धित एयरलाइन्स कम्पनीहरूसँग गत आर्थिक वर्षमा नेपालबाट उडेका यात्रुहरूको विवरण माग गरेको भएपनि विमान कम्पनीहरूले विवरण दिन आनाकानी गरेका छन् ।
राजश्व अनुसन्धान विभागका अनुसार नेपालमा कुल ३२ वटा एयरलाइन्स कम्पनीहरूले उडान भरिरहेको भएपनि जम्मा ५ वटा कम्पनीले मात्रै हालसम्म यात्रुहरूको विवरण र एनक्यु ट्याक्सबापत तिरेको रकमको विवरण बुझाएका छन् । बाँकी २७ वटा कम्पनीहरूले यात्रुहरूको विवरण र एनक्यु ट्याक्सबापत तिरेको रकमबारे जानकारी दिन आलटाल गरिरहेका छन् ।
एनक्यु ट्याक्समा करोडौँ घोटाला भएको र नेपाली यात्रुबाट समेत एनक्यु ट्याक्स उठाएर राजश्व खातामा दाखिला नगरेको भन्दै राजश्व अनुसन्धान विभागले गत माघ महिनादेखि अनुसन्धान सुरु गरेको थियो । चैतको दोस्रो साता मुद्दा दर्ता गर्ने तयारीसहित अनुसन्धान थालिएको भएपनि नेपालमा उडान भर्ने एयरलाइन्स कम्पनीहरूले यात्रुहरूको स्पष्ट विवरण नदिएको र एनक्यु ट्याक्सबापतको रकम पनि स्पष्टरुपमा उल्लेख नगरेको कारण यसको अनुसन्धानमा नै बाधा पुगिरहेको छ ।
नेपालबाट खाडी मुलुक तथा अन्य गन्तव्यका लागि उडान भर्ने मुख्यतः सिंगापुर एयरलाइन्स, एअर अरेबिया, फ्लाई दुबई, एयर एसिया, जजिरा एअर, सलाम एअर, इण्डिगो एअर, कतार एयरवेज, थाई लायन र स्पाइस जेट एयरलाइन्समाथि अनुसन्धान केन्द्रित छ । तर अनुसन्धान केन्द्रित रहेका र घोटालाको आशङ्का गरिएका यी विमान कम्पनीहरूले राजश्व अनुसन्धान विभागलाई यात्रुको विवरण र एनक्यु ट्याक्सको रकमबारे जानकारी दिन नै आलटाल गरिरहेका छन् ।
पहिले एनक्यु ट्याक्स के हो भन्नेबारे बुझौँ
नेपालको पर्यटन पूर्वाधार निर्माण र प्रवर्द्धनका लागि भन्दै सरकारले विदेशी पर्यटकबाट प्रतिव्यक्ति एक हजार रुपैयाँमा १३ प्रतिशत भ्याटसमेत गरी कुल १ हजार १३० रुपैयाँ उठाउने गरेको छ । पर्यटन सेवा शुल्कका नाममा उठाउने उक्त रकम सुरुमा ५ सय रुपैयाँका दरले उठाउने गरिएको थियो ।
नेपाल पर्यटन बोर्डले २०६१ माघ १ गतेदेखि त्रिभुवन विमानस्थलमै काउन्टर राखेर नेपालबाट विमानमार्फत अन्तर्राष्ट्रिय उडान गर्ने यात्रुसँग प्रतिव्यक्ति ५ सय रुपैयाँका दरले उक्त रकम लिने गरेको थियो । पछि उक्त रकम हवाई टिकटमा नै समावेश हुने र एयरलाइन्स कम्पनीले सोझै बुझाउनुपर्ने व्यवस्था गरियो ।
हवाई उडानको अन्तर्राष्ट्रिय नियमन निकाय आईकाओले जुन जुन देशले पर्यटन सेवा शुल्क लिने हो, त्यो देशका लागि त्यस्तो शुल्क प्रयोग गर्न टिकटमा एउटा कोड प्रयोग गर्न दियो । आईकाओले प्रयोग गर्न दिएको ट्याक्सको प्रकारमा एनक्यु लेख्न थालियो र यदि एनक्यु ट्याक्स लागेको देखियो भने त्यो पर्यटन सेवा शुल्क हो ।
नेपालमा काउन्टर राखेर शुल्क उठाउन झन्झटिलो र खर्चिलो भएपछि सरकारले २०६५ फागुन १८ गतेदेखि एयरलाइन्सको टिकटमा नै समावेश हुने गरी प्रतियात्रु ५ सय रुपैयाँ राजश्व खातामा आउने गरी व्यवस्था गरेको थियो ।
सुरुमा ५ सय रुपैयाँबाट सुरु गरिएको एनक्यु ट्याक्सको शुल्क बढाएर पछि प्रति यात्रु १ हजार रुपैयाँ पुर्याइयो भने त्यसमा पनि १३ प्रतिशत भ्याट जोडी कुल १ हजार ११३ रुपैयाँ कायम भयो ।
मुख्यतः नेपालको पर्यटन प्रवर्द्धन र पर्यटन पूर्वाधार निर्माणका लागि भन्दै उठाइने उक्त रकम नेपालबाट विदेशमा हवाई यात्रा गर्ने विदेशी पर्यटकसँग मात्रै लिइन्छ । नेपाल सरकारले रकम एयरलाइन्स कम्पनीहरूले नै सोझै बुझाउनुपर्ने नीति बनाएको थियो । तर सबै एयरलाइन्स कम्पनीहरूले एनक्यु ट्याक्स पूर्णरुपमा नबुझाएको र नेपाली यात्रुसँग पनि एनक्यु ट्याक्स उठाएर आफैले राखेको भन्दै उजुरी र गुनासो परेपछि एयरलाइन्स कम्पनीहरूमाथि छानबिन सुरु भएको थियो ।
राजश्व अनुसन्धान विभागले नेपालबाट उडान भर्ने एयरलाइन्समध्ये सिंगापुर एयरलाइन्स, एअर अरेबिया, फ्लाई दुबई, इण्डिगो एअर, जजिरा एअर, कुवेत एयरवेज, कतार एयरवेज, मलेसिया एअर, मालिण्डो एअर, सलाम एअर, थाई लायन, थाई एयरवेज, एअर एसिया, भिस्तारा र स्पाइस जेटमाथि अनुसन्धान सुरु गरेको थियो । यसअघि उडान भरेपनि हाल नेपालमा उडान नगरेको स्पाइस जेटमाथि पनि विभागले अनुसन्धान सुरु गरेको थियो ।
विभागले तत्कालका लागि आर्थिक वर्ष २०७९/०८० को विवरणको अनुसन्धान थालेको हो । कतिपय विमान कम्पनीहरूले विदेशी यात्रुको ठेगाना पनि नेपाल राखेर राजश्व छली गरेको आशङ्कासमेत गरिएको छ । अनि अधिकांश विमान कम्पनीहरूले नेपाली र विदेशीलाई फरकफरक मूल्य नराखी एउटै मूल्य लिएको र उक्त मूल्य करसहितको मूल्य भएकाले सो रकम पनि सरकारी खातामा दाखिला गर्नुपर्ने हुनसक्ने भन्दै अनुसन्धान सुरु गरेको हो ।
नेपाली र विदेशी यात्रुलाई एउटै मूल्य लिए के हुन्छ एनक्यु ट्याक्स ?
नेपालको क्षेत्रमा करसँग सम्बन्धित विषयको निर्धारण र नियमन गर्ने अधिकारी नेपाल सरकार र त्यसको कार्यान्वयनका लागि बनेको ऐन, नियम र निर्देशिकाले गर्छ । मूल्य अभिवृद्धि कर नियमावलीको नियम १४ (ख) मा वस्तु वा सेवाको मूल्य कायम गर्दा करसहितको मूल्य उल्लेख गर्नुपर्ने उल्लेख छ । यदि कसैले करसहित हो वा करबाहेक हो भनेको रहेछ भने पनि वस्तु वा सेवाको अन्तिम उपभोग्य वा उपभोक्ता मूल्य करसहितकै मूल्य हुने कानुनी व्यवस्था छ र यदि नेपाली र विदेशी यात्रुसँग एउटै शुल्क लिइएको छ भने त्यो एनक्यु ट्याक्ससहितकै मूल्य हुन जान्छ ।
मूल्य अभिवृद्धिकर नियमावलीको नियम १४ (ख) मा यस्तो भनिएको छ ः
१४ (ख) करसहितको मूल्य उल्लेख गर्नुपर्ने :
दर्ता भएको व्यक्तिले आफ्नो औद्योगिक प्रदर्शनी कक्ष, बिक्री कक्ष, होटल, रेष्टुरेण्ट, बार, कारोबारस्थल वा आपूर्ति गर्ने स्थानमा राखिएको कर लाग्ने वस्तु वा सेवाको बिक्री मूल्य (ट्याग प्राइस, मेनु प्राइस र सेल्फ प्राइस) मा करसहितको मूल्य उल्लेख गर्नु पर्नेछ ।
यही कानुनी व्यवस्थाअनुसार नै एयरलाइन्स कम्पनीहरूले पनि एनक्यु ट्याक्स लिँदा नेपाली र विदेशी पर्यटकको मूल्यमा अन्तर नराखेको भएमा त्यो करसहितकै मूल्य हुने र मूल्यमा फरक नपारिएको भए नेपालीबाट उठाएको रकमसमेत सरकारी खातामा दाखिला गर्नुपर्ने हुनसक्छ ।
अध्यागमन, आयटा र विमान कम्पनीको डाटा ट्याली हुने
राजश्व अनुसन्धान विभागले अहिले अध्यागमन विभाग र हवाई टिकट बिक्रीको एकीकृत प्रणाली आयटासँग तथ्यांक माग गरी त्यसको अनुसन्धान गरिरहेको छ । विभागलाई नेपालको अध्यागमन विभाग र आयटाबाट तथ्यांक प्राप्त भइसकेको छ । तर छानबिनका दायरामा तानिएका एयरलाइन्स कम्पनीहरूले भने अझैसम्म पनि आफ्ना विमान कम्पनीहरूबाट उडेका नेपाली र विदेशी यात्रुको विवरण दिएका छैनन् । उनीहरूले कहिले हेड अफिसबाट ‘अप्रुभल’ नभएको त कहिले पत्राचार भएको भन्दै टार्दै आइरहेका छन् ।
नागरिक उड्डयन प्राधिकरणसँग मागियो विवरण
नेपालमा र नेपालबाट उडान भर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूले राजश्व अनुसन्धान विभागलाई विवरण उपलब्ध नगराएपछि विभागले नागरिक उड्डयन प्राधिकरणसँग तथ्यांक माग गरेको छ । प्राधिकरणले सम्बन्धित विमान कम्पनीहरूसँग कागजात माग्ने गरी विभागले प्राधिकरणलाई पत्र लेख्दै विवरण माग गरेको थियो । तर प्राधिकरणका केही व्यक्ति मुद्दा लागेका र केही व्यक्ति निलम्बनमा परेको कारण प्राधिकरणले तथ्यांक उपलब्ध गराउन नसकेको राजश्व अनुसन्धान विभागले जनाएको छ ।
गत आर्थिक वर्षमा झण्डै साँढे ७ लाख पर्यटक नेपालबाट उडे
अध्यागमन विभागको तथ्यांकअनुसार नेपालबाट गत आर्थिक वर्षमा ७ लाख ९० हजार ४४ जना विदेशी पर्यटकले अन्तर्राष्ट्रिय हवाई यात्रा गरेका छन् । त्यस्तै सोही आर्थिक वर्षमा नेपालबाट ११ लाख ६३ हजार ३१६ जना नेपाली नागरिकले यात्रा गरेका छन् ।
तर अन्तर्राष्ट्रिय हवाई टिकटको व्यवस्थापन गर्ने आयटाको तथ्यांकमा भने केही फरक देखिन्छ । आयटाको रिपोर्टमा गत आर्थिक वर्षमा नेपालबाट ७ लाख ३४ हजार ७३२ जना विदेशी पर्यटक र १४ लाख ६२ हजार ८ जना नेपाली नागरिक उडेको देखिन्छ । दुवै तथ्यांक हेर्दा यसमा नेपाली र विदेशी पर्यटकको संख्यामा फरक देखिन्छ । यो तथ्यांकमा कसको कमजोरी हो भन्ने सम्बन्धमा पनि विभागले अनुसन्धान गरिरहेको छ ।
करिब १० अर्ब रकम रहेको आशङ्का
एनक्यु ट्याक्सका नाममा घोटाला भएको आशंकामा छानबिन सुरु गरेको राजश्व अनुसन्धान विभागले कम्तीमा ५ वर्षको तथ्यांक केलाउने हो भने करिब १० अर्ब रुपैयाँ ‘एनक्यु ट्याक्स’मा मात्रै ठगी भएको र ‘नो सो’ समेतको रकम विमान कम्पनीहरूले दुरुपयोग गरेको हुनसक्ने आँकलन गरेको छ ।
तत्कालका लागि पछिल्लो आर्थिक वर्षको मात्रै तथ्यांक केलाउने र त्यसमा कैफियत देखिएमा अन्य वर्षको पनि गहन अध्ययन गर्ने तयारी रहेको राजश्व अनुसन्धान विभागले जनाएको छ । विगत १० वर्षमा नेपालबाट समेत उठाएको रकम, एनक्यु ट्याक्सको रकम र नो सो समेतको रकम जोड्ने हो भने यस्तो हिनामिना करिब ३० अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ ।
मानव तस्करी प्रकरणमा जोडिएको थियो एअर अरेबिया
नेपालमा र नेपालबाट उडान भरिरहेको एअर अरेबिया नेपालबाट भिजिट भिसाका नाममा हुने मानव तस्करी प्रकरणमा पनि जोडिएको एयरलाइन्स हो । एअर अरेबियाका कर्मचारी र व्यवस्थापन मिलेर एकतर्फी हवाई टिकटकै भिजिट भिसामा पठाएको र त्यसवापत प्रतिव्यक्ति ७ हजार रुपैयाँका दरले कमिसन लिएको आरोप लागेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर टेकुको अनुसन्धानमा एअर अरेबियामा काम गर्ने कर्मचारी भिजिट भिसामार्फत् हुने मानव तस्करीमा प्रत्यक्ष जोडिएको पाइएको थियो । एअर अरेबियामा मासिक १५ हजार रुपैयाँ तलब खाने कर्मचारीको काठमाडौंमा विभिन्न व्यक्तिहरूको नाममा ३ वटा घर किनिएको प्रहरीको दाबी छ । अहिले एअर अरेबियाका ती कर्मचारी फरार रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया