औरही बाबाको दर्शन गर्न जाने भनेर श्रीमतीको हत्या

एक सातापछि भेटियो शव, श्रीमान पक्राउ

लोकपथ
119
Shares

जनकपुर । धनुषाको महेन्द्रनगरबाट एक सातादेखि बेपत्ता भएकी क्षिरेश्वरनाथ नगरपालिका–५ सखुवा, महेन्द्रनगरकी २८ वर्षीया रुबी यादवको उनकै श्रीमान राजु यादवले हत्या गरेको प्रहरीले जनाएको छ ।

जेठ २६ गतेदेखि बेपत्ता भएकी २८ वर्षीया रुबीको शव असार १ गते शनिबार राति मिथिला नगरपालिका–६ औरहीस्थित सामुदायिक वनको खोल्सामा फेला परेको हो ।

श्रीमतीलाई बेपत्ता पारेको आशंकामा श्रीमान राजुलाई इलाका प्रहरी कार्यालय सखुवाले बिहीबार नै नियन्त्रणमा लिएको थियो ।
इलाका प्रहरी कार्यालय सखुवा, महेन्द्रनगरका प्रहरी निरीक्षक सोनुकुमार साहले राजुकै बयानको आधारमा शव फेला परेको बताए । प्रहरी निरीक्षक साहले गत बिहीबार राजुले औरही बाबाको दर्शन गर्न भनी श्रीमती रुबीलाई लगेर हत्या गरेको बताए । रुबी बेपत्ता भएपछि माइतपक्षले प्रहरीमा उजुरीसमेत दिएका थिए ।

रुबीको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । राजु केही महिनाअघि वैदेशिक रोजगारबाट फर्किएका थिए । उनीहरुका ६ वर्षीय छोरा अस्मित यादव छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?