भेरी नदीमा बेपत्ता भएका दुई जनाको शव सशस्त्रको गोताखोरले निकाल्यो

लोकपथ
854
Shares

वीरेन्द्रनगर । सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका–२ स्थित भेरी नदीमा बेपत्ता भएका दुवै जनाको शव सशस्त्र प्रहरीको गोताखोरले निकालेको छ । असार १ गते शनिबार नुहाउने क्रममा भुपेन्द्र केसी र विनोद केसी. भेरी नदीमा बेपत्ता भएका थिए ।

आइतबार सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट सशस्त्र प्रहरी सहायक निरीक्षक रमेशबहादुर थापाको कमाण्डमा गएको १० जनाको गोताखोरले आज आइतबार १२ः३५ बजे भुपेन्द्रको र १२ः४० बजे विनोदको शव ३० फिट गहिराईबाट निकालेको हो ।

यसैगरी कास्की जिल्लाको पोखरा महानगरपालिका–३३ बरपौवास्थित सुरौदी खोलामा पुल बनाउन खनेको खाल्टोमा खसेका बालकको शव असार २ गते सशस्त्र प्रहरीको गोताखोरले निकालेको छ । सोही ठाउँ बस्ने ९ वर्षीय गणेश विक असार १ गते साँझ ५ बजे पुल बनाउन खनेको खाल्टोमा खसेका थिए । सो बारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट खटिएको गोताखोरसहितको फौजले बालकको शव अन्दाजी २० फिट गहिराईबाट निकालेको हो ।

त्यस्तै कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिका–५ बछेलास्थित झरनाबाट खसेका व्यक्तिको शव नं. ३५ गण कञ्चनपुरको टोलीले फेला पारेको छ । असार १ गते साँझ झरनाबाट व्यक्ति खसेको जानकारी प्राप्त भएपछि खटिएको सुरक्षा फौजले रातको १० बजे उनको शव निकालेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?