काठमाडौं । ललितपुरको जावलाखेलस्थित डेरामा अर्धचेत अवस्थामा फेला परेका दम्पतीको हत्या प्रकरणमा नयाँ ट्विस्ट आएको छ । विष सेवनबाट दुबै जनाको निधन भएको आशंका गरिएकोमा प्रहरीको पछिल्लो अनुसन्धानले भने श्रीमानले श्रीमतीको हत्या गरेपछि आफूले आत्महत्या गरेको देखाएको छ ।
सिन्धुपाल्चोक घर भएर अल्का अस्पताल पछाडि बस्दै आएका २५ वर्षीय उमेश सेन्चुरी र उनकी पत्नी २५ वर्षीया रेणु सेन्चुरी शुक्रबार साँझ अर्धचेत अवस्थामा भेटिएका थिए । डेरामा अर्धचेत भेटिएपछि प्रहरीले उनीहरूलाई अस्पताल लगेको थियो । उपचारको क्रममा उनीहरूको पाटन अस्पतालमा मृत्यु भएको थियो ।
अनुसन्धानमा संलग्न अधिकृतहरूका अनुसार, मृतकहरु दम्पती भएपनि उमेश कपनमा र रेणु जावलाखेलमा बस्दै आएका थिए । घटना भएको साँझ उमेश श्रीमती बस्दै आएको कोठामा गएका थिए । तर रेणु डेरामा थिइनन् । पत्नी नआउन्जेल उमेश डेरा आसपासमा डुलिरहेको देखिएको छिमेकीहरूको भनाइ छ । पत्नी आएपछि डेरामा प्रवेश गरेका उनीहरू भित्रबाट चुकुल लगाएको अवस्थामा अर्धचेत देखेपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए
दुवै जनाको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । चिकित्सकहरूले प्रहरी अधिकृतहरुलाई रेणुको घाँटीमा ‘दबाब’ को कारण मृत्यु भएको बताएका छन् । ‘रेणुको मृत्यु कर्तव्यबाट भएको आशंका गरिएको छ,’ प्रहरी स्रोतले भन्यो । पत्नीको हत्यापछि उमेशले विष खाएर आत्महत्या गरेको आशंका गरिएको छ । यद्यपि, पोस्टमार्टम रिपोर्ट भने आइसकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया