दार्चुला । नेपालको सुदूरपश्चिम प्रदेश दार्चुला जिल्लाको उत्तरी भागमा अवस्थित अपी नाम्पा संरक्षण क्षेत्र नेपालका प्रमुख पर्यटकीय गन्तव्यमा पर्दछ । यहाँ पुग्ने जोसुकैको पनि मन लोभ्याउने यो शान्त क्षेत्र सुन्दर हिमालले सुशोभित भएकाले पनि थप आकर्षक रहेको छ ।
शान्त वातावरण, विभिन्न वरपरका विविध क्षेत्रको दृश्य तथा जैविक विविधताले भरिपूर्ण यस संरक्षण क्षेत्रबाट वरपरको प्राकृतिक मनोरम दृश्य पनि सजिलैसँग अवलोकन गर्न सकिन्छ । खनिज पदार्थ, खानी, दुर्लभ पशुपक्षी, बहुमूल्य जडीबुटी, देवस्थल तथा वरपर हिमालको आकर्षण यस क्षेत्रका विशेषता हुन् ।
यस क्षेत्रलाई देवभूमि पनि भन्ने गरिन्छ । यसै क्षेत्रमा देवीदेउताका प्राचीन मन्दिरहरू पनि यहाँ अवस्थित छन् । यस क्षेत्रमा महर्षि वेदव्यासले तपस्या गरी वेद, पुराण, महाभारत आदिमा यस क्षेत्रको बारेमा वर्णन पनि गरेका थिए । यहाँ अवस्थित रहेका पुराना तथा प्राचीन मन्दिरहरू र ऋषिमुनिहरुले तपस्या गरेका स्थलहरूको अध्ययनबाट पनि यस अपीनम्पा क्षेत्रको पवित्रता स्पष्ट रूपमा बुझ्न सकिन्छ ।
अपी नाम्पा संरक्षण क्षेत्र जैविक विविधताले भरिपूर्ण क्षेत्र हो । यस क्षेत्रमा पाइने जडीबुटी, लोपोन्मुख वन्यजन्तु, प्राकृतिक सम्पदाहरु यसका मुख्य आकर्षण हुन् । यहाँ पर्यटकहरूका लागि घरबास ९होमस्टे०को पनि व्यवस्था गरिएकाले पनि टाढादेखि नै यहाँ पर्यटक आउने गर्दछन् । यो क्षेत्रमा वर्षको सात महिना हिउँले ढाकिएको हुन्छन् । त्यसकारणले यहाँका बासिन्दा हिउँ नपर्ने अरू ठाउँमा बास बस्न जाने गर्दछन् । तर पनि हिउँ खेल्ने तथा यसमा रमाउनेहरुका लागि त्यो समय झनै आकर्षक हुने गरेको छ ।
दार्चुला सदरमुकामबाट भारतको बाटो हुँदै गाडीमा करिब चार घण्टाको यात्रापछि सीतापुलबाट एक घण्टा पैदल हिँडेर व्यास गाउँपालिका–१ छाङ्गरु अपी नाम्पा संरक्षण क्षेत्रमा प्रवेश गर्न सकिन्छ । नेपाल सरकारले सुदूरपश्चिम जैविक विविधता बोकेको अपी नाम्पा क्षेत्रलाई २०६७ असार २८ मा अपी नाम्पा संरक्षण क्षेत्रका रूपमा घोषणा गरेको हो । यस क्षेत्रभित्र सुदूरपश्चिम प्रदेशकै अग्लो अपी हिमाल पर्दछ । अपी हिमालको उचाई सात हजार एकसय ३२ मिटर छ । दार्चुला जिल्लाका उत्तरी भेगका यस क्षेत्रअन्तर्गत चार वटा वडा दुहू गाउँपालिकाका पाँच वडा अपीहिमाल गाउँपालिकाका छ वडा र मार्मा गाउँपालिकाको सम्पूर्ण भाग, त्यस्तै नौगाड गाउँपालिकाका पाँच वडा र महाकाली नगरपालिकाका दुई वडा गरी जम्मा ३१ वडामा फैलिएको छ ।
यो संरक्षण क्षेत्र करिब एक हजार ९०३ वर्ग किलोमिटरमा फैलिएको छ । पाँच सय ३९ मिटर देखि सात हजार १३२ मिटरको उचाइसम्ममा रहेको यस क्षेत्रको पूर्व तर्फ बझाङ जिल्लाको सिमाना, पश्चिमतर्फ महाकाली नदी, भारतको उत्तराखण्ड जिल्लाको अन्तर्राष्ट्रिय सिमाना, उत्तरतर्फ चीनको स्वशासित क्षेत्र तिब्बत र दक्षिणतर्फ नौगाड गाउँपालिका पर्दछ ।
यस संरक्षण क्षेत्रमा बसोबास गर्ने समुदायहरूको आठ हजार नौ सय ७९ घरधुरीमा कूल जनसङ्ख्या ५९ हजार ६ सय नौ रहेको छ । यहाँका बासिन्दाले ध्युउला, गौरा, विसु प्रमुख चाडपर्व मान्ने गर्दछन् । सो क्षेत्रमा २५ प्रकारका अस्तनधारी जनावर, दुई सय ४३ प्रजातिभन्दा बढी चरा, ३५ प्रकारका माछा र ७५ प्रकारभन्दा बढी जडीबुटीहरु पाइन्छन् । यहाँ मनमोहक फाटँहरु, गुफा, झरना, सुन्दर तालका साथै मनै लोभ्याउने हिमालहरु रहेका छन् । उक्त क्षेत्रभित्र हिउँ चितुवा, घोरल, कस्तुरी मृग, हिमाली कालो भालु, डाँफे, मुनाल, हिउँ मयुरजस्ता दुर्लभ वन्यजन्तु रहेका छन् । त्यस्तै जटामसी, यार्सागुम्बा, पाँचऔँले, कुड्की, सुगन्धबाल, तालिसपत्र, लौठसल्लो, पाखनवेद, दाल चिनी, रिठ्ठा, ओखर आदि जस्ता बहुमूल्य जडीबुटी पाइने गर्दछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया