काठमाडाैं । आफूहरूलाई भ्रष्टाचार विरोधी अभियन्ता बताउँदै रकम असुलीमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ । गोकर्णेश्वर नगरपालिका क्षेत्रमा बार्गेनिङ गरी रकम असुलीमा संलग्नलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंले अभियन्ता भन्दै रकम असुलीमा संलग्न ३१ वर्षीय राजु सुनार, २६ वर्षीय आदर्श क्षेत्री, २० वर्षीय अस्मिता खत्री र ४५ वर्षका प्रेम प्रसाद श्रेष्ठलाई पक्राउ गरेको हो ।
आफूलाई भ्रष्ट्राचार विरोधी अभियन्ता बताउँदै उनीहरूले काठमाडौँको गोकर्णेश्वर नगरपालिका क्षेत्रमा कागजात माग्ने र रकम असुल्ने कार्य गरेको प्रहरीले बताएको छ । उनीहरूले ‘बेथिति एवं भ्रष्ट्राचार विरुद्धको अभियान, २०८०’ नामक संस्थासमेत खोलेर विभिन्न वडाहरूमा त्यसको शाखा कार्यालय समेत खोलेका थिए ।
उनीहरूले विभिन्न सरकारी कार्यालय, स्थानीय निकाय, विद्यालय, संघसंस्था, निजी कम्पनी, कलकारखाना, टोल सुधार एवं उपभोक्ता समिति आदिमा गई आफूहरू भ्रष्ट्राचार विरोधी अभियन्ता रहेको र तिमीहरूको विरुद्धमा भ्रष्ट्राचार गरेको, कर छली गरेको, आर्थिक अनियमितता गरेको लगायतको उजुरी छ भन्दै धाकधम्की दिई रकम असुल गर्ने गरेको प्रहरीको दाबी छ ।
उनीहरूले आफूकहाँ उजुरी आएकाले छानबिन गर्न आएको भन्दै कागजात माग गर्ने, हिसाबकिताब माग गर्ने, कर्मचारीलाई धम्काउने, अख्तियार उजुरी र अदालतमा मुद्दा हालिदिने धम्की दिने समेत भनी भिडियो समेत बनाउने गरेका थिए ।
उनीहरूले पुष्टि नै नभएका विषयलाई सामाजिक सञ्जालमा पोष्ट गर्ने र भ्रष्टाचार तथा अनियमितता भएको लगायतका विषय प्रचार गर्ने समेत गरेको प्रहरीले जनाएको छ । उनीहरूका सम्बन्धमा उजुरी परेपछि प्रहरी वृत्त बौद्धले सोमबार उनीहरूलाई पक्राउ गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया