काठमाडौं । के तपाईं नेपालमा उत्पादन भएको आँपको पारखी हुनुहुन्छ ? यदि हुनुहुन्छ भने आजै पानीपोखरीस्थित वालनट बिस्ट्रोमा जानुस् । त्यहाँ तपाईले प्राकृतिक रूपमा पाकेका वा पकाइएका मालदह, जर्दा, बमोई, गुलाब खास, अम्रपाली, कलकत्तिया, दसहरीलगायत १५ भेराइटीका आँपहरू खरिद गर्न सक्नु हुनेछ ।
नेपाली आँपको प्रचलन बढाउन, नेपाली किसानलाई प्रोत्साहन गर्न र उपभोक्ताहरूलाई विषादीरहित आँपको पहुँच पु-याउने उद्देश्यले आज शुक्रबारदेखि वालनट बिस्ट्रोमा तीन दिनसम्म प्रथम नेपाल आँप फेस्ट, २०८१ आयोजना गरिएको छ । किसान भेञ्चर र काठमाडौं अर्गानिक्सको संयुक्त आयोजनामा आँप फेस्ट आयोजना गरिएको हो ।
‘नेपालमा पछिल्लो समय भारतबाट आँपको अत्यधिक आयात भइरहेको छ । नेपाली आँपको सिजन ४५ दिन मात्र चल्छ र यस अवधिमा पनि हामी भारतीय आँप आयात गरिरहेका छौं,’ किसान भेञ्चर र काठमाडौं अर्गानिक्सद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विषादी प्रयोग गरिएको महँगा आँपहरू उपभोग गर्नुको सट्टा स्वदेशी उत्पादनलाई बढावा दिनुपर्छ ।’
आयोजकका अनुसार सर्लाही, सप्तरी र सिराहाका ५० जना किसानबाट आँप ल्याएर फेस्ट आयोजना गर्न लागिएको हो । आँप फेस्टमा ग्राहकले आँपको स्वाद चाखेर पाँच र बीस किलोको बक्समा किन्ने सुविधा रहेको छ । काठमाडौं अर्गानिक्स, उत्पला क्याफे र द गार्डेनमा आँप र आँपबाट बनेका विभिन्न उत्पादनहरू प्रदर्शनी एवम् बिक्रीमा राखिने छ ।
तीनदिने फेस्टमा तीन हजार बढी अवलोकनकर्ताबाट २५ हजारदेखि ३० हजार किलो आँप बिक्री गर्ने लक्ष्य राखिएको छ ।फेस्टको नारा ‘नेपाली उत्पादनलाई समर्थन गरौं, ताजा र स्वादिलो आँपको आनन्द उठाऔं’ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया