काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले सरकारले आफ्नै देशमा उत्पादन बढी भएर अब कहाँ बेच्ने होला भन्नेसम्मको अवस्थामा पुगेको ‘विद्युत उत्पादन’ आफ्नै देशका औद्योगिक करिडोर क्षेत्रमा निर्वाध र गुणस्तरीय विद्युत आपूर्ति गर्न केले रोकिरहेको छ भन्दै प्रश्न गरेका छन् ।
आइतबारको संसद बैठकको शून्य समयमा बोल्दै रास्वपा सांसद पराजुलीले देशभित्र स्थापित उद्योग र औद्योगिक करिडोर क्षेत्रले नेपाल विद्युत प्राधिकरणको अघोषित लोडसेडिङ, सिस्टम फेल, लाइन ट्रिप जस्ता समस्याका कारण विद्युत आपूर्तिमा समस्या र उत्पादनमा निकै ठूलो कठिनाई झेल्नु परेको बताए ।
उनले व्यापार घाटा कम गर्न र आन्तरिक उत्पादन बढाउन उद्योग र कच्चा पदार्थमा एक तह भन्सार दर कम गर्ने नीति बजेटबाट सरकारले घोषणा गरेको भएपनि देशका औद्योगिक करिडोर र उद्योग क्षेत्रहरुमा विद्युत आपूर्तिको अवस्था निकै दुर्दशापूर्ण रहेको बताए ।
उनले भने, ‘भन्सार विभागको तथ्यांकअनुसार गत जेठ मसान्तसम्मको डाटाअनुसार व्यापार घाटा १३ खर्ब १४ अर्ब ४४ करोड रुपैयाँ रहेको छ । जुन निर्यातको तुलनामा १०.४४ गुणा बेसी हो । यो कहाली लाग्दो व्यापार घाटा विगतदेखिको निरन्तरता हो र व्यापार घाटा न्यूनिकरण गर्न आयात प्रतिस्थापनको लागि आन्तरिक उत्पादन बढाउँदै निर्यात बढाउन बाहेक अरु कुनै विकल्प छैन ।’
उनले अन्तिममा भने, ‘म यस सम्मानित सदनबाट उक्त क्षेत्रहरुमा निर्वाध बिजुली उपलब्ध गराई दीर्घकालीन व्यवस्थापन गर्न ऊर्जा मन्त्रालय र विद्युत प्राधिकरणलाई विनम्र आग्रह गर्दै ऊर्जा मन्त्रीज्यूलाई व्यवस्थापन सम्पन्न गरी यस सम्मानीत सदनमा उपस्थित भई यथासिघ्र जनकारी गराउनुहुन ध्यानार्कषण गराउँदछु ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया