लीलादेवी गड्तौलालाई निमित्त मुख्य सचिवको जिम्मेवारी, अर्याल राष्ट्रिय योजना आयोगमा

लोकपथ
364
Shares

काठमाडौं । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयकी सचिव लीलादेवी गड्तौलालाई निमित्त मुख्य सचिवको जिम्मेवारी दिएको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले गड्तौलालाई सो जिम्मेवारी दिएको हो ।

अर्को मुख्य सचिव नियुक्त नभएसम्म गड्तौलाले निमित्त मुख्य सचिवको जिम्मेवारी सम्हाल्ने छिन् । कार्य सम्पादन नियमावली बमोजिम वरिष्ठ सचिवले निमित्त मुख्यसचिवको जिम्मेवारी निर्वाह गर्ने व्यवस्थाअनुरूप गड्तौलालाई निमित्तको जिम्मेवारी दिइएको हो ।

बैठकले निलम्बित मुख्य सचिव बैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा विशेष पद सिर्जना गरेर सरुवा गर्ने निर्णय गरेको छ । अर्यालले राजीनामा नदिएपछि उनलाई विशेष पद सिर्जना गरेर योजना आयोगमा लगिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेपछि अर्याल स्वतः निलम्बन भएका थिए । सार्वजनिक पद धारण गरेको व्यक्तिविरुद्ध भ्रष्टाचार मुद्दा दायर भए स्वतः निलम्बन हुने अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनको व्यवस्था अनुसार उनी निलम्बनमा परेका हुन् ।

मन्त्रिपरिषद्को बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारका मुख्यसचिव वैकुण्ठ अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएकोमा प्रचलित कानुनबमोजिम निज स्वतः निलम्बनमा परेको बताइन् । उनले हाललाई राष्ट्रिय योजना आयोगमा राजपत्राङ्कित विशिष्ट श्रेणीको मुख्यसचिव सरहको विशेष पद सिर्जना गरी उनलाई उक्त पदमा सरुवा गर्ने निर्णय गरेको बताइन् ।

उनले भनिन्, ‘नेपाल सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्यालबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएकोमा प्रचलित कानुनबमोजिम निज स्वतः निलम्बन हुनुभएको छ । हाललाई राष्ट्रिय योजना आयोगमा राजपत्राङ्कित विशिष्ट श्रेणीको मुख्यसचिव सरहको विशेष पद सिर्जना गरी उहाँलाई उक्त पदमा सरुवा गर्ने निर्णय भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?