काठमाडौं । प्रहरी नायव महानिरीक्षक (डीआईजी) पोषराज पोखरेललाई दुई दिनका लागि मात्रै भएपनि अतिरिक्त महानिरीक्षक (एआईजी) बनाउन उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले दबाब दिएको बताइएको छ ।
एआईजी उमेशराज जोशीको अवकाशपछि दुई दिन मात्र एआईजीको कुर्चीमा रहने पोखरेलको बढुवाले न राज्यलाई न प्रहरी संगठनलाई नै कुनै लाभ पुग्छ । न त जनताले नै उनीबाट कुनै लाभ लिन सक्छन् ।
तर डीआईजी पोखरेलका लागि भने केही फाइदा हुनेछ । एक त माथिल्लो पदबाट अवकाश पाउँदा अवकाशपछि उनको सेवा सुविधा (पेन्सन) बढ्छ । अर्को, विशिष्ट श्रेणीबाट अवकाश हुँदा पछि संवैधानिक निकायमा समेत नियुक्ति सहज हुन्छ ।
राज्यलाई नै घाटा हुने काम गृहमन्त्री लामिछानेले किन गरे त ? स्रोतका अनुसार, डीआईजी पोखरेल गृहमन्त्री लामिछानेका कानुन व्यवसायी सुशील पन्तका आफन्त (भान्जा) हुन् । त्यसैले लामिछानेले दुई दिनका लागि भएपनि उनलाई एआईजीमा सिफारिस गर्न लगाएका हुन् ।
त्यसो त गृहमन्त्री लामिछानेले पोखरेललाई यसअघि वैशाखमै एआईजीमा बढुवाको प्रयास गरेका थिए । तर त्यसबेला सफल भएनन् । अन्तिम समयमा एमाले अध्यक्ष केपी शर्मा ओलीले भीमप्रसाद ढकालको नाममा अडान लिएपछि लामिछाने पछि हटेका थिए ।
जोशी र ढकाललाई वैशाख २७ गते एआईजीमा बढुवा गरिएको थियो । जोशी आईजीपी वसन्तबहादुर कुँवरकै ब्याची हुन् भने ढकाल एआईजी दीपक थापाका ब्याची हुन् । हाल बढुवा सिफारिस भएका पोखरेल पनि आईजीपी कुँवरकै ब्याची हुन् ।
एआईजी उमेशराज जोशी यही असार १८ गते राति १२ बजेबाट अनिवार्य अवकाशमा जाँदैछन् ।
५६ वर्षे उमेर हदका कारण उनी अनिवार्य अवकाशमा जान लागेका हुन् । उनको ठाउँमा पोखरेललाई बढुवा सिफारिस गरिएको हो । पोखरेल पनि ५६ वर्षे उमेर हदका कारण असार २० गते राति १२ बजेबाट ५६ वर्षे उमेर हदकै कारण अनिवार्य अवकाशमा जानेछन् । यो हिसावले भन्दा पोखरेलले असार १९ मा एआईजीको फुली लगाउने छन् । र, असार २० गते राति १२ बजे उनको फुलीको औचित्य सकिने छ ।
पोखरेल प्रहरी प्रधान कार्यालय महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालय नक्सालमा दरबन्दी रही काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा कार्यरत छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया