यी ६ प्रदेशमा आज भारी वर्षाको सम्भावना

लोकपथ
0
Shares

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेकाले आज पूर्वी नेपालमा बिहानैदेखि भारी वर्षा भइरहेको जनाएको छ । आज देशभर आंशिक देखि साधारणतया बदली रही हाल बागमती, कोशी र गण्डकी प्रदेशको केहि स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित वर्षा भइरहेको छ ।

पछिल्लो तीन घण्टामा मोरङ, सिराहाको दोधना, उदयपुरको सुन्दरपुर र झापाको केचनास्थित वर्षा मापन केन्द्रमा भारी वर्षा भएको विभागले उल्लेख गरेको छ । विभागले उक्त क्षेत्रमा थप वर्षा हुनसक्ने सम्भावना रहेको भन्दै ती जिल्ला भएर बग्ने नदीको तटीय क्षेत्र र डुबान भइरहने भू-भागहका बासिन्दालाई सकतर्कता अपनाउन आग्रह गरेको छ । दूधकोसी नदी रबुवाबजार बाढीमापन केन्द्र र ओखलढुङगामा जलसतह सतर्कता तह आसपास पुगेको जनाउँदै दूधकोसीको सुनकोसी दोभानसम्मको नदी तटीय क्षेत्रमा दिउँसोसम्म उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

लमजुङको खुदी बजार आसपासको क्षेत्रमा पनि भारी वर्षा भएकाले खुदी खोलालगायतका क्षेत्र भएर बग्ने नदी तथा खोलाहरूमा आकस्मिक बाढीको जोखिम रहेको उल्लेख गरेको छ । बुधबार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रही बाँकी भू-भागमा आंशिक देखि साधारणतया बदली रहने छ। दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी ,मधेश, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले उल्लेख गरेको छ ।

राती कोशी, मधेश र बागमती प्रदेशका धेरै स्थानमा, गण्डकी र  लुम्बिनी प्रदेशका केही स्थानका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै, कोशी ,गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको उल्लेख छ । पछिल्लो चौविस घण्टामा धरान वर्षा मापन केन्द्रमा ३५ दशमलब ६ प्रतिशत वर्षा मापन भएको छ । यस्तै,  पोखरामा २९ दशमलब ५, विरेन्द्रनगरमा २९ दशमलब ४, भैरहवा र सिमरा मापन केन्द्रमा २४ दशमलब २ प्रतिषत वर्षा मापन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?