कास्की र लम्जुङमा जताततै पहिरो, पाँच जनाको मृत्यु, एकै घरका तीन बेपत्ता

लोकपथ
1.5k
Shares

काठमाडौं । अविरल वर्षापछि लमजुङ र कास्कीमा गएको पहिरोमा परी चार जनाको मृत्यु भएको छ । लमजुङमा दुई र कास्कीमा दुई जनाको मृत्यु भएको हो । यस्तै, लमजुङमा तीन जना बेपत्ता भएका छन् ।

लमजुङको पहिरोमा बेशीशहर नगरपालिका–११ चितीका १६ वर्षीय विकल सुनार र क्व्होलासोथार गाउँपालिका–३ बगुमका रुद्रमान गुरुङ रहेका छन् । चितीका विकल र उनका दाजु मिलन सुनार हिरोमा परेर घाइते भएपछि उपचारका लागि जिल्ला अस्पताल बेशीशहर लैजाँदा गर्दा विकलको बाटोमै मृत्यु भएको लमजुङ प्रहरी प्रमुख डिएसपी मिनबहादुर घलेले जानकारी दिए ।
यस्तै क्व्होलासोथार गाउँपालिका बगुमका रुद्रमानसहित ४ जना पहिरोले पुरिएर बेपत्ता भएकोमा पहिरो पन्छाएर उनीहरूको खोजी गर्दा ६९ वर्षीय रुद्रमानको शव भेटिएको डिएसपी घलेले बताए । पहिरोमा पुरिएका ३६ वर्षीय पञ्चकुमारी गुरुङ, उनकी ७ वर्षीय इच्छा गुरुङ र ५ वर्षीय नम्रता गुरुङ भने अझै बेपत्ता छन् ।

अविरल वर्षाका कारण गएको पहिरोले बगुममा रुद्रमान, पञ्चकुमारी र क्व्होलासोथार गाउँपालिकाका योजना शाखा प्रमुखसमेत रहेका चित्र घलेको घर पुरिएको छ । रुद्रमानका श्रीमती लिलाकुमारी र बेपत्ता भएकी पञ्चकुमारीका छोरा ९ वर्षीय निरज छिमेकीको घरमा सुतेकाले जोगिएको गाउँपालिका उपाध्यक्ष गमी गुरुङले बताइन् ।

यस्तै, गाउँपालिका योजना शाखा प्रमुख चित्र घले पनि पालिकाको केन्द्र रहेको मालिङमा रहेकाले जोगिएको गुरुङले बताइन् ।
यस्तै, अविरल वर्षापछि पहिरोमा परेर कास्कीमा दुई छुट्टाछुट्टै घटनामा एक बालक र एक बालिकाको मृत्यु भएको छ । उक्त घटनामा एकजना घाइते भएका छन् ।

कास्कीको मादी गाउँपालिका–५ चितेपानी घुम्तीमा गए राति पहिरोमा पुरिएर १३ वर्षीया आयुष्मा रानाभाटको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए । सो घटनामा ७० वर्षीया हजुरआमा लालमाया बन्जाराको उद्धार गरिएको छ । घटना घटेका बेला घरमा नातिनी र हजुरआमा मात्र रहेका थिए । इलाका प्रहरी कार्यालय शिशुवाको टोलीले लालमायाको उद्धार गरेको हो ।

यसैगरी गए राति नै पोखरा महानगरपालिका–२७ आरुपाटामा हरि सुनारको दुई कोठाको कच्ची घर पहिरोले भत्किँदा उनका तीन वर्षीय छोरा अनमोलको मृत्यु भएको छ । उक्त घटनामा सुनारकी श्रीमती २७ वर्षीया रितु घाइते भएकी प्रहरी नायब उपरीक्षक शर्माले बताए । उनको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । सो घटनामा हरि र उनका नौ वर्षीया छोरी अञ्जलीको सकुशल उद्धार गरिएको छ । पोखरामा गए रातिदेखि निरन्तर वर्षा भइरहेको छ ।

देशभर मनसुनी वायुको प्रभाव देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । बागमती प्रदेश, कोशी प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घन्टामा सिरहाको गोलबजारमा ४७.२, झापाको अनारमनीमा १२७.४, उदयपुरको सुन्दरपुरमा ११८.८, सिन्धुपाल्चोकको ढुंगेमा ९६.८, संखुवासभाको तुर्केघाटमा ९४.४, सिन्धुपाल्चोकको भोताङमा ९४.४, लमजुङको बेसीसहरमा १११, कास्कीको लामापाटनमा ११५.४ तथा डडेलधुराको साहुखर्कमा ८०.६ मिलिमिटर वर्षा भएको छ ।

आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रही बाँकी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रही बाँकी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेश र बागमती प्रदेशका धेरै स्थानमा तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?