काठमाडौं । बिवाहको बाहनामा मानव तस्करी तथा बेचबिखन गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन् ।
पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका–१ जोगिदह घर भएकी ३१ वर्षीया सुन्दरी राई छिन् । उनलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो ।
उनले चिनियाँ केटासँग विवाह गरेर चीन आउन भन्दै पीडित महिलालाई सामाजिक सञ्जालमार्फत प्रस्ताव गरेकी थिइन् । विश्वास दिलाउन आफू समेत चिनियाँ केटासँग विवाह गरेर चीन आएको बताएकी थिइन् ।
त्यसपछि पीडित महिलालाई ठमेलमा उनले चिनियाँ केटासँग समेत भेट गराएको पाइएको ब्यूरोका प्रवक्ता एसपी गौतम मिश्रले जानकारी दिए । महिलालाई झुक्याएर १० फागुन २०८० मा चीन पुर्याएको खुल्न उनले बताए । पीडितको जाहेरीपछि ११ असारमा सुन्दरी राईलाई पक्राउ गरी मानव बेचबिखन तथा ओसारपसारको कसुरमा अनुसन्धान गर्न व्यूरोले ७ दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएको छ ।
यस घटनामा चिनियाँ नागरिक समेत संलग्न रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया