नाउपामा अर्काे किचलो, मन्त्री बन्नै लागेकी रञ्जितालाई दलको नेताबाट हटाइयो

लोकपथ
1.5k
Shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्षसमेत रहेकी रञ्जिता श्रेष्ठ (चौधरी) लाई बहुमत सांसदले संसदीय दलको नेताबाट हटाएका छन् । संसदीय दलको नयाँ नेतामा गंगाराम चौधरीलाई चयन गरिएको छ । गंगाराम यसअघि प्रमुख सचेतकको भूमिकामा रहेका थिए ।

प्रतिनिधिसभामा नाउपाका चार सांसद छन् । उनलाई संसदीय दलको नेताबाट हटाइएको पत्रमा तीन सांसदको हस्ताक्षर छ । सांसद गंगा चौधरी, अरुण चौधरी र लालवीर चौधरी (रेशम चौधरीका बुबा) ले पत्रमा हस्ताक्षर गरेका छन्नाउपाका संस्थापक नेता रेशम चौधरीकी पत्नीसमेत रहेकी रञ्जिता र रेशमबीच राजनीतिक रुपमा तीव्र मतभेद छ ।

गंगाराम चौधरीलाई दलको नेता चयन गरेपछि प्रमुख सचेतकको जिम्मेवारी लालवीर चौधरीलाई दिइएको छ । संसदीय दलका नयाँ नेता गंगारामले रञ्जितालाई दलको नेताबाट हटाउनुको कारण खुलाएनन् । ‘यस विषयमा हामी अहिले थप केही बोल्दैनौँ,’ उनले भने, ‘रञ्जिताजी पनि हाम्रै नेता हो । जिम्मेवारी हेरफेर गरिएको मात्रै हो ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद पुनर्गठन गर्नै लाग्दा पार्टी अध्यक्ष रञ्जितालाई संसदीय दलको नेताबाट हटाइएको हो । प्रधानमन्त्री दाहालले रञ्जितालाई पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनाउन खोजिरहेका छन् । रञ्जिता स्वयंले प्रधानमन्त्री दाहालले आफूलाई पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनाउने भनी बताएको सार्वजनिकरुपमै बताइरहेकी छन् ।

रञ्जितालाई पार्टीसँगको सल्लाहबेगर नै मन्त्री बनाइए नाउपामा थप विवाद चर्कने निश्चित छ । संसदीय दलका नयाँ नेता गंगारामले यसको संकेतसमेत गरिसकेका छन् । उनले प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन गरेपछि थप कुरा खुल्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?