खानीखोलाका कफी–कृषकलाई अनुदान

लोकपथ
0
Shares

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकाले कफीखेतीलाई बर्सेनि प्राथमिकतामा राख्दै आएको छ । गाउँपालिकाले दीगो आयस्रोतका रुपमा कफीखेती छनोट गरी चालु आर्थिक वर्षको सुरुआतमै ‘जसको उत्पादन, उसैलाई अनुदान’ कार्यक्रमलाई निरन्तरता दिँदै आएको हो ।

कार्यक्रमअन्तर्गत कृषक समूह र कृषि सहकारी गरी १९ वटा संस्थामा आबद्ध कृषकलाई घोषित अनुदान हाल वितरण गरिएको छ । कृषक समूहलाई २१ लख अनुदान वितरण गरेको गाउँपालिकाले जनाएको छ । वार्षिक उत्पादन–बिक्रीको आधारमा प्रतिकेजी ३५ अनुदान दिइएको हो । गत सालको तुलनामा यस वर्ष तीनगुणाले कफी उत्पादनमा वृद्धि भएको गाउँपालिकाको कृषि शाखाले जनाएको छ ।

गत साल समूहलाई सात लाख अनुदान वितरण गरेको शाखा प्रमुख खिम डाँगीले जानकारी दिए । उनका अनुसार उत्कृष्ट समूहमध्ये कोदाखोरिया कफी उत्पादन सहकारी संस्थाले १५ हजार चार सय ३४ केजी कफी उत्पादन गरी रु चार लाख ६३ हजार ३३ अनुदान पाएको छ । शाखाका अनुसार यस वर्ष करिब ५० हजार केजी कफी उत्पादन भएको छ ।

कफी किसानलाई प्रोत्साहन दिन लागू गरिएको अनुदान कार्यक्रमअनुसार गाउँपालिकाले गत आर्थिक वर्षमा ३५ लाख बजेट विनियोजन गरेको गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले बताए । “समूहभन्दा बाहिर रहेका किसानलाइ समेत समेटेर आउँदो आवमा कार्यक्रम बनाउनेछौँ”, अध्यक्ष थिङले भने । उनले भौगोलिक विकटताका कारण अन्य नगदे बालीको भन्दा कफीको बजारीकरण सजिलो देखिएकाले उक्त खेतीलाई गाउँपालिकाले प्राथमिकतामा राखेको बताए । उनका अनुसार अनुदान वितरण गरी बाँकी बजेटबाट चालु आवमा कृषकलाई ९० हजार बिरुवा अनुदानमा वितरण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?