रञ्जितालाई दलको नेताबाट हटाइएपछि दाहाल सरकारलाई दिएको समर्थनबारे के गर्छ नाउपा ?

दलको निर्णय आजै संसद् सचिवालयमा दर्ता गर्ने तयारी

लोकपथ
2.9k
Shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नाउपा संसदीय दलको नेताबाट अध्यक्ष रञ्जिता श्रेष्ठ (चौधरी) लाई हटाइएसँगै नेपाली राजनीतिमा नयाँ बहस सुरु भएको छ ।

संसदीय दलको नयाँ नेतामा चुनिएका गंगाराम चौधरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सत्ता गठबन्धनप्रति सकारात्मक नभएकाले नाउपा संसदीय दलले अब कस्तो निर्णय लिन्छ भन्ने चासोसमेत सुरु भइसकेको छ । गंगारामले संसदीय दलमा फरक मत राख्दै आइरहेका थिए । पछिल्लो पटक प्रधानमन्त्री दाहालले विश्वासको मत लिँदा उनी अनुपस्थित भएका थिए । आफैले विश्वासको मत नदिएको सरकारबारे उनले कस्तो निर्णय गर्छन् त्यो भने हेर्न बाँकी नै छ । गंगाराम यसअघि प्रमुख सचेतकको भूमिकामा थिए ।

पार्टी अध्यक्ष रञ्जितालाई संसदीय दलको नेताबाट हटाइएको निर्णय–पत्र आज सोमबार नै संसद् सचिवालयमा दर्ता गर्ने तयारी भइरहेको छ । सो पत्रमा गंगाराम चौधरी, अरुण चौधरी र लालवीर चौधरीको हस्ताक्षर छ । रञ्जिताको हस्ताक्षर भने छैन ।
चार मध्ये तीन सांसदको समर्थनमा दलको नेता बनेका गंगारामले अब पार्टीलाई मिलाएर लैजाने बताएका छन् । ‘पहिले पार्टी अध्यक्ष पनि उहाँ (रञ्जिता) हुनुहुन्थ्यो, दलको नेता पनि । अब मैले दलको नेताको जिम्मेवारी पाएको छु, ‘सबैलाई मिलाएर, समेटेर लैजान्छु,’ उनले भने ।

दाहाल कांग्रेससहितको सत्ता गठबन्धनबाट अलग भएपछि उनी नेतृत्वको सरकारलाई समर्थन गर्ने/नगर्ने विषयमा नाउपामा तीब्र मतभेद भएको थियो । रेशम चौधरी निकट रहेका गंगाराम तत्काल सरकारलाई समर्थन नगर्ने पक्षमा उभिँदा पार्टी अध्यक्ष रञ्जिता चौधरीसहित अन्य तीन जना सरकारलाई समर्थन गर्ने र सरकारमा सहभागी हुने भन्ने अडानमा थिए । बहुमतका आधारमा रञ्जिताकै एजेन्डा अगाडि बढेको थियो । तर, अहिले परिस्थिति फेरिएको छ । प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारको आयुमाथि नै प्रश्न खडा भइरहेका बेला केही समय अघिसम्म अध्यक्ष रञ्जिताको पक्षमा देखिएका लालवीर चौधरी (रेशमका बाबु) र अरुण चौधरीले पनि रञ्जितालाई छाडेर गंगारामलाई साथ दिएका छन् ।

संसदीय दलको नेताको हैसियतमा आफै मन्त्री बन्ने तयारीमा रहेकी रञ्जिता अब मन्त्री बन्ने सम्भावना न्यून छ । संसदीय दलका नयाँ नेता गंगारामले भनेका छन्, ‘मन्त्री सिफारिस गर्ने विषयमा हामी फेरि छलफल र बैठक राख्छौँ ।’ प्रधानमन्त्री दाहालले रञ्जितालाई पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनाउन खोजिरहेका थिए । रञ्जिता स्वयंले प्रधानमन्त्री दाहालले आफूलाई पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनाउने भनी बताएको सार्वजनिकरुपमै बताइरहेकी थिइन् । उनले पछिल्ला दिनमा आफूलाई मन्त्री बनाउन प्रधानमन्त्री दाहाललाई दबाबसमेत दिइरहेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?