‘इट्स माई शो’ का कतिपय अंश आपत्तिजनक भन्दै प्रेस काउन्सिलले दियो हटाउन निर्देशन

अरुको चरित्र हत्या गर्ने, गोपनीयता हनन् हुने निहित उद्देश्य थिएन : ओसिन सिटौला

लोकपथ
273
Shares

काठमाडौं । कान्तिपुर टेलिभिजनको विवादास्पद कार्यक्रम ‘इट्स माई शो’ का कतिपय अंश आपत्तिजनक भन्दै प्रेस काउन्सिल नेपालले त्यसलाई हटाउन कडा निर्देशन दिएको छ ।

काउन्सिलले यो विषयमा बयानका लागि हिजो मंगलबार उक्त कार्यक्रम प्रस्तोता ओसिन सिटौलालाई कार्यालयमै बोलाएको थियो । झण्डै एक घण्टा सिटौलाले उक्त कार्यक्रमबारे विभिन्न तर्क गरेकी थिइन् ।

काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतसहितसँग भएको छलफलमा प्रस्तोता सिटौलाले आफ्नो कार्यक्रममार्फत अरुको चरित्र हत्या गर्ने, गोपनीयता हनन् हुने निहित उद्देश्य नराखेको प्रष्ट पारेकी थिइन् ।

उनले एक साता अघि उक्त शोमा नायिका स्वस्तिमा खड्का, सामाज्ञ्री राज्यलक्ष्मी शाहलाई ल्याएकी थिइन् । त्यहाँ सोधिएका प्रश्न र प्राप्त जवाफ अश्लील, आपत्तिजनक र गोपनीयताको हकविपरीत रहेको भन्दै प्रेस काउन्सिल कडा एक्सनमा उत्रिएको हो ।

उनले काउन्सिलमा अन्य कलाकारको मानमर्दन भएमा माफी माग्ने र प्रेस काउन्सिलको सल्लाह र निर्णय मान्न तयार रहेको बताएकी थिइन् । काउन्सिलले विवादास्पद र आपत्तिजनक हुने गरी कुनै पनि सामाग्री प्रसारण नगर्न कान्तिपुर टेलिभिजनलाई निर्देशनसमेत दिएको काउन्सिलका एक सदस्यले बताए ।

छलफलमा अध्यक्ष बस्नेत, पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेल, नेपाल बार एशोसिएसनका महासचिव अन्जिता खनालसहित सहभागी थिए । छलफलमा उक्त शोका निर्माता, कान्तिपुर टिभीका समाचार र प्रशासनको समेत प्रतिनिधित्व थियो ।
प्रेस काउन्सिलले पछिल्लो समय विभिन्न मिडियामा आएका आचारसंहिताविपरीतका सामाग्री, हुबहु कपी गरी दिएका सामाग्री र बार्गेनिङ गरिएका मुद्धामा सक्रियता देखाइरहेको छ । यसअघि सिधाकुरा, नेपालआज, दैनिकी, फरकधारसहित ३ दर्जन सञ्चारमाध्यमलाई काउन्सिलले कडा कारबाही गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?