दुई दिने एआईजी बन्न पोखरेललाई बाटो खुल्यो, गृहमन्त्री लामिछानेको दबाबले पोखरेललाई फाइदै फाइदा

लोकपथ
2.3k
Shares

काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उमेशराज जोशी सेवा निवृत्त भएसँगै नायव महानिरीक्षक (डीआईजी) पोषराज पोखरेललाई एआईजी बन्न बाटो खुलेको छ । मंगलबार राति १२ बजेबाट जोशी अनिवार्य अवकाशमा गएका हुन् । निमित्त आईजी टेकप्रसाद राईले एक कार्यक्रमबीच जोशीलाई बिदाइसमेत गरिसकेका छन् ।

एआईजी जोशी प्रहरी नियमावली २०७१ बमोजिम ५६ वर्ष उमेर हदको कारण अवकाश भएका हुन् । उनी ५ चैत २०५१ मा प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गरेका थिए ।

जोशी रिक्त हुनु ९ दिन अगावै उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको दबाबमा पोखरेललाई एआईजीका लागि सिफारिस गरिएको थियो । उनलाई बढुवा गर्न मन्त्रिपरिषद बैठक बस्नु पर्छ । बढुवा सिफारिसमा परेका पोखरेल पनि आईजीपी कुँवरकै ब्याची हुन् । पोखरेल प्रहरी प्रधान कार्यालय महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालय नक्सालमा दरबन्दी रही काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा कार्यरत छन् ।

एआईजी बढुवा भए पनि पोखरेल २१ असारबाटै अवकाशमा जानेछन् । उनी २ दिन मात्रै एआईजीको भूमिकामा रहनेछन् ।
पोखरेलको बढुवाले न राज्यलाई न प्रहरी संगठनलाई नै कुनै लाभ पुग्छ । न त जनताले नै उनीबाट कुनै लाभ लिन सक्छन् ।
तर पोखरेलका लागि भने केही फाइदा हुनेछ । एक त माथिल्लो पदबाट अवकाश पाउँदा अवकाशपछि उनको सेवा सुविधा (पेन्सन) बढ्छ । अर्को, विशिष्ट श्रेणीबाट अवकाश हुँदा पछि संवैधानिक निकायमा समेत नियुक्ति सहज हुन्छ ।

पोखरेल गृहमन्त्री लामिछानेका कानुन व्यवसायी सुशील पन्तका आफन्त (भान्जा) हुन् । त्यसैले लामिछानेले दुई दिनका लागि भएपनि उनलाई एआईजीमा सिफारिस गर्न लगाएका हुन् । त्यसो त गृहमन्त्री लामिछानेले पोखरेललाई यसअघि वैशाखमै एआईजीमा बढुवाको प्रयास गरेका थिए । तर त्यसबेला सफल भएनन् । अन्तिम समयमा एमाले अध्यक्ष केपी शर्मा ओलीले भीमप्रसाद ढकालको नाममा अडान लिएपछि लामिछाने पछि हटेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?