पत्रकारितामा नक्कल गर्ने विकृति बढ्दो छ : रामकृष्ण रेग्मी

लोकपथ
91
Shares

काठमाडौं । प्राध्यापक एवम् आमसञ्चार विज्ञ रामकृष्ण रेग्मीले मिडिया क्षेत्रमा आएको परिवर्तनका कारण आम सञ्चारकर्मीहरुलाई अब विगतमा हासिल गरेको सीपले मात्र नपुग्ने बताएका छन् । सञ्चारकर्मीले तथ्य र तर्कका भरमा दुवै पक्षलाई समेट्न सक्नुपर्ने बताउँदै उनले पत्रकारले उठाउनैपर्ने कुरालाई एकदमै थोरै छुने र नउठाए पनि हुने कुरालाई धेरै महत्व दिने गरेको बताए ।

उनले भने, ‘पत्रकारितामा हुबहु नक्कल गर्ने विकृति ज्यादै छ । यसलाई रोक्न सम्पादक होइन, संवाददाताले भूमिका खेल्नुपर्छ ।  म ‘कपीपेस्ट’ गर्दिनँ भनेर भित्रैदेखि सहमत हुनुपर्छ । यही नहुँदा हामी ‘रिपोर्टिङ प्रदूषण’ मा छौं । संवाददातामा समाचार संकलनका लागि फिल्डमै पुग्नुपर्छ भन्ने मानसिकता नै छैन । पत्रकारितामा अध्ययन संस्कृति घटेको छ ।’

साथै उनले अहिले नेपालका आमसंचारमाध्यम एउटा चौबाटोमा गइरहेको बताए । उनले एकातिर टेक्नोलोजीको स्मार्ट प्रयोग गर्नुपर्ने सम्भावना धेरै छ भने अर्कोतिर रिपोर्टिङको अभ्यासलाई परिनर्तन नगरी नहुने अवस्था आएको उनको जिकिर छ ।

रेग्मीले आवाजहरूलाई सशक्त बनाउने, सत्यलाई उज्यालो बनाउने प्रेसको शक्ति अर्थात् आमसंचार जगत अहिले मौन रहेको समेत बताए । उनले भने, ‘अहिलेको प्रविधिमा सूचना प्रवाहलाई निरन्तरता दिन र  प्रयोगकर्ताहरूले चाहेको जस्तो सूसूचित सूचना दिन आमसंचार माध्यमले सकिरहेको छैन, यसका लागि सामग्रीका स्वरूपहरू परिवर्तन हुनुपर्दछ ।’

यसैबीच उनले सोसल मिडियामा अहिले जुन परिवर्तन आइरहेको छ त्यसलाई एक किसिमको रिस्पोन्स गर्नुपर्ने बताए ।

उनले भने, ‘सोसल मिडियाबाट  सबै  सामाग्री आइरहेको  हुन्छ भनेर हामी आमसंचार जगतले त्यत्तिकै  बस्न मिल्दैन । त्यसैले  रेडियोको  पनि  यहाँ उत्तिकै  भूमिका छ, टेलिभिजनको लागि पनि  भूमिका छ, पत्रपत्रिका र  अनलाइनहरूको पनि उत्तिकै  भूमिका छ ।’

साथै उनले कन्टेन छान्ने र कन्टेनलाई विश्वसनीय बनाउने काममा आमसंचार माध्यमले जोड दिनुपर्ने बताए । ‘हाम्रो भूमिका सिद्दियो सोसल मिडियामा सबै गयो भनेर आमसंचार माध्यमले चुप लागेर बस्नु हुँदैन,’ उनले भने ।

अहिले संचार जगतमा ठुलो  परिवर्तन आएकोले पत्रकारको प्रतिनिधित्व संस्थाले सधैं अगाडि जानुपर्ने बताए । प्रतिनिधित्व संस्थाले पत्रकारहरूको सर्वव्यापी हित मात्र नभइ यो  पेसालाइ  नै  योगदान  दिनुपर्ने उल्लेख गरे । साथै  पत्रकारिता भित्र आएका परिवर्तनहरूलाइ पत्रकारहरूले पनि समाचार कक्ष भित्र जानु अगाडि सहजीकरण गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?