बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले, समर्थन पनि फिर्ता

लोकपथ
273
Shares

हेटौंडा । माओवादी केन्द्र नेतृत्वको बागमती प्रदेश सरकारबाट नेकपा एमाले आज सोमबारबाट बाहिरिएको छ । एमालेले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ ।

एमाले बागमती प्रदेश संसदीय दलका नेतासमेत रहेका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियासहित पाँच जना मन्त्रीहरूले आज मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भेटेर समर्थन फिर्तासहित संयुक्त राजीनामा बुझाएका हुन् । एमाले मन्त्रीहरुले तीन, चार दिनअघि नै राजीनामा बुझाउन खोजेको भएपनि मुख्यमन्त्री जम्कट्टेलले समय नदिँदा ढिलाइ भइरहेको थियो ।

एमालेबाट सरकारमा आर्थिक मामिला मन्त्री थपलियासहित उघोग, वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयमा प्रकाश श्रेष्ठ, वन तथा वातावरणमा मन्त्रालयमा केशव पोखरेल, स्वास्थ्य मन्त्रालयमा रामेश्वर श्रेष्ठ र जलश्रोत, उर्जा तथा खानेपानी मन्त्रालयमा एकालाल श्रेष्ठ थिए ।

उता, अल्पमतमा परेका बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । काठमाडौंस्थित पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको आइतबारको बैठकले मुख्यमन्त्री जम्कट्टेलले राजीनामा नदिने र विश्वासको मत लिने निर्णय गरेको थियो । माओवादीका मुख्य सचेतक रत्नप्रसाद ढकालका अनुसार, बैठकले विश्वासको मत लिने बैठकले निर्णय गरे पनि मिति भने तोक्न बाँकी छ ।

बदलिँदो राजनीतिक परिस्थितिका कारण जम्कट्टेलले विश्वासको मत पाउने अवस्था भने छैन । नयाँ सत्ता समीकरण बनेसँगै बागमतीमा अब चौथो पटक एमाले र कांग्रेसको गठबन्धन सरकार बनाउने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?