‘मस्ट वान्टेड’ जीवन गुरुङ नेपाली दूतावासबाटै ‘नो अब्जेक्सन लेटर’ लिएर यसरी तेस्रो मुलुक भागे

भारतको इमिग्रेसनले ‘एनओसी लेटर’सहित जहाजतर्फ यात्रामा निस्किएको यात्रुलाई रोक्न नमिल्ने भन्दै पन्छाइदियो

लोकपथ
1.7k
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पटक–पटक भएको सुन तस्करीमा संलग्न पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका सल्लाहकार जीवन गुरुङ भारतको नयाँदिल्लीस्थित नेपाली दूतावासबाट एनओसी (नो अब्जेक्सन लेटर) लिएर तेस्रो मुलुक फरार भएको खुलासा भएको छ । प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा रहेका गुरुङमाथि दोस्रो चरणको अनुसन्धान भइरहेको बेला उनी नाटकीय ढंगले फरार हुन सफल भएका हुन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले विमानस्थलबाट तस्कर भई आएको ६०.७१६ किलो सुन तस्करीसँग सम्बन्धित दोस्रो चरणको अनुसन्धान सुरु गरेलगत्तै उनी स्थलमार्ग हुँदै भारतको नयाँदिल्ली पुगेका थिए । यो सूचना पाएपछि सीआईबीले गुरुङलाई पक्राउ गर्न दिल्ली प्रहरीसँग समन्वयसमेत गरिरहेको थियो । यसका लागि सीआईबीले नेपाली दूतावासस्थित प्रहरी ‘एट्याची’ एसएसपी उमाप्रसाद चतुर्वेदीलाई दिल्ली प्रहरीसँग समन्वय गर्न निर्देशन पनि दिएको थियो । प्राप्त निर्देशनलगत्तै एसएसपी चतुर्वेदीले दिल्ली प्रहरीसँग आवश्यक समन्वय मिलाउँदै थिए । तर, गुरुङले त्यसअगावै दूतावासबाट एनओसी लेटर फुत्काइसकेको स्रोतको दाबी छ

स्रोतका अनुसार, दूतावासबाट एनओसी लेटरसमेत लिइसकेको जानकारी पाएपछि एसएसपी चतुर्बेदीले गुरुङलाई रोक्न दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको भारतीय इमिग्रेसनमा अनुरोधसमेत गरेका थिए । तर, भारतको इमिग्रेसनले एनओसी लेटरसहित जहाजतर्फ यात्रामा निस्किएको यात्रुलाई रोक्न नमिल्ने भन्दै पन्छाइदिएपछि उनी सजिलै तेस्रो मुलुक जान सफल भएको बताइएको छ ।

सीआईबीले गत ५ चैतदेखि ६०.७१६ किलो सुन तस्करीसँग सम्बन्धित दोस्रो चरणको अनुसन्धान सुरु गरेको थियो । विमानस्थलबाट भएको १४ किलो सुन तस्करीमा पक्राउ परेका गुरुङ सोही दिन १५ लाख धरौटीमा जिल्ला अदालत काठमाडौंबाट हिरासतमुक्त भएका थिए । पुनः पक्राउ परिने भएपछि गुरुङ रातारात स्थलमार्ग हुँदै दिल्ली पुगेका थिए ।
गुरुङविरुद्ध विमानस्थल भन्सार कार्यालयले १ अर्ब ४० करोड रुपैयाँ बिगो र ५ वर्षको कैद सजाय माग्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो ।

१४ किलो सुनमा रिहा भए पनि गुरुङको संलग्नता ६० किलो भन्दा बढीमा समेत संलग्नता खुलेको थियो । पूर्वन्यायाधीश डिल्लीराज आचार्य अध्यक्ष रहेको सुन तस्करी जाँचबुझ आयोगले सुन तस्करीका नाइके दावाजिन वाङले चढेको गाडी नै गुरुङको नाममा रहेको खुलेको थियो ।

दावाजिनले पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई गाडी सहयोग गर्न भनेको र त्यसपछि महराले प्लाटिनम कलेजका अध्यक्षलाई दावाजिनलाई सहयोग गर्न भनेका थिए । दावाजिनले रकम दिएपछि गुरुङले आफ्नो नाममा गाडी किनेर दावाजिनलाई दिएको खुलेको थियो ।

उक्त गाडीमार्फत नै दावाजिनले अवैध सुन ओसारपसार र कारोबार गरेको देखिएको आयोगले प्रतिवेदनमा उल्लेख गरेको छ । गुरुङकै नाममा गाडी खरिद गरेर सुन तस्करीमा प्रयोग गरेको पाइएपछि सीआईबीले ६० किलो सुन तस्करीमा पनि गुरुङमाथि अनुसन्धान अघि बढाएर मुद्धासमेत दर्ता गरिसकेको छ । सुन तस्करीमा भारतीय नागरिक अंकित अग्रवालको प्रतिनिधि भएर उनले काम गर्दै आएका थिए ।

डिल्लीबजारस्थित प्लाटिनम कलेजका सञ्चालकसमेत रहेका गुरुङलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को टोलीले गत फागुन १३ गते काठमाडौंको सामाखुशीबाट पक्राउ गरेको थियो । गत मंसिर २१ गते दुबईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भित्र्याइएको १४ किलो सुन प्रकरणमा गुरुङको संलग्नता देखिएको थियो । घटनापछि फरार रहेका गुरुङलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भन्सार कार्यालयको पत्रको आधारमा सीआइबीले खोजी गरी पक्राउ गरेको थियो ।

गत मंसिर २१ गते दुबईबाट आएका चन्द्र घलेले ल्याएको १४ किलो सुन त्रिभुवन विमानस्थल भन्सार कार्यालयले बरामद गरेको थियो । घलेको बयान र अन्य प्रमाणका आधारमा भन्सारको टोलीले अन्य ७ जनालाई पक्राउ गरेको थियो ।यो घटनाको अनुसन्धान गर्न कार्यालयले भन्सार अधिकृत मणिराम पौडेलको नेतृत्वमा छानबिन समिति बनाएको थियो ।

समितिको प्रतिवेदनका आधारमा १० जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा १ अर्ब ४० करोड ५५ लाख रुपैयाँ बिगो माग दाबी गर्दै मुद्दा दायर गरिएको थियो । जसमा मुख्य योजनाकार गोरखा घर भएका मीनबहादुर गुरुङलाई देखाइएको थियो ।
अनुसन्धानका क्रममा तस्करसँग जीवनको सम्बन्ध देखिए पनि भन्सारको टोलीले नियन्त्रणमा लिन मानेको थिएन । उनलाई प्रतिवादी नबनाइ अदालतमा मुद्दा बुझाइएको थियो । मुद्दा बुझाएलगत्तै घटनामा संगठित अपराधसमेत देखिएकाले अनुसन्धान गर्न भन्सार कार्यालयले सीआइबीलाई पत्राचार गरेको थियो ।

जीवनको नेकपा माओवादी केन्द्रका नेताहरूसँग राम्रो सम्बन्ध भएको देखिएको छ । पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुनसँग जीवनको हिमचिम देखिएको अनुसन्धानबाट खुलेको छ ।६१ किलो र भेपभित्रको ९ किलो सुनका तस्करसँग पनि जीवनको सम्पर्क देखिएको छ । जीवन चिनियाँ नागरिकसँग ‘बिजनेस पार्टनर’कै रुपमा तस्करीमा संलग्न भएको विवरण भेटिएको सीआइबी स्रोतले जानकारी दिएको छ ।

भेप र ६१ किलो सुन प्रकरणमा चिनियाँ नागरिकको संलग्नता देखिएको थियो । जुन घटनामा मुख्य भनिएका वाङजिङ अझै फरार छन् । उनीसँग जीवनको सम्बन्ध देखिएको छ । जीवनविरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?