एकीकृत समाजवादीका पाँच सांसद ‘विद्रोह’ को मनस्थितिमा, आले र श्रेष्ठले गर अगुवाई

लोकपथ
8.4k
Shares

काठमाडौं । नेकपा एमालेबाट छुट्टिएर बनेको माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीका पाँच जना सांसद जुनसुकै बेला विद्रोह गर्ने अवस्थामा पुगेका छन् । यसको नेतृत्व प्रेमबहादुर आले र किसनबहादुर श्रेष्ठले गरेका छन् ।

एकीकृत समाजवादीले गत साता मात्रै १०औं राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको थियो । महाधिवेशन सफल भएको भनिए पनि पार्टीभित्रको विवाद चरम उत्कर्षमा पुगेको स्रोतको भनाइ छ ।

पार्टीको महाधिवेशन चलिरहँदा पोलिटब्युरो सदस्यसमेत रहेका आले भारत भ्रमणमा निस्किएका थिए । उनी महाधिवेशन सकिएपछि मात्रै नेपाल फर्किए । सांसद श्रेष्ठ पनि पार्टीमा विगत दुई महिनादेखि निष्क्रियजस्तै देखिन्छन् । नेता आले र श्रेष्ठसँग अहिले ५ जना सांसद रहेको दाबी छ ।

पार्टीको महाधिवेशन छाडेका नेता आलेले अब एकीकृत समाजवादीमा सक्रिय राजनीति नगर्ने घोषणा नै गरेका छन् । भारत भ्रमणबाट फर्केलगतै उनले आफू जनमोर्चाको जतिको हैसियत पनि नभएको पार्टीमा फर्केर नजाने बताए । पार्टी अध्यक्ष नेपाललाई समेत प्रेम आलेले अब एकीकृत समाजवादीमा सक्रिय राजनीति नगर्ने जवाफ दिइसकेका छन् ।

त्यसैले, गएको महाधिवेशनमा उनको नाम केन्द्रीय सदस्यमा समेटिएन । आले आफू आठ महिनादेखि पार्टीको कुनै पनि गतिविधिमा संलग्न नभएको बताउँछन् । ‘संसदीय दलको बैठकमा माधव कमरेडले मलाई किन फोन नउठाउनुभएको भन्नुभयो, मैले तपाईंको नम्बर नै मेरो मोबाइलमा छैन भनेर जवाफ दिएँ,’ नेता आलेले भने, ‘पार्टी अध्यक्षको नम्बर छैन भनेपछि तपाईंसँग अब कसको नम्बर छ त भनेर प्रश्न गरेपछि मैले अशोक राई, प्रदीप यादवलगायतको नम्बर छ भनेर जवाफ दिएँ ।’ आफूले जवाफ दिएपछि माधव कमरेड चुपचाप बसेका र त्यही दिनदेखि अब तपाईंको पार्टीमा म कुनै पनि हैसियतमा बस्दिनँ भनेर जवाफ दिएको आलेले बताए । उनले भने, ‘त्यसपछि म समाजवादीको पार्टी कार्यालयमा फर्किएको छैन ।’

भविष्यमा अरू राजनीतिक दलमा पनि नलाग्ने भन्ने प्रश्नमा उनले भविष्यमा जे पनि हुनसक्ने बताए । कम्युनिस्ट पार्टीमा सक्रिय हुने हो वा डेमोक्र्याट पनि हुने भन्ने प्रश्नमा उनले कुनै विचार बनाएर आफू नबसेको बताए । ‘भोलि म डेमोक्र्याट पनि हुन सक्छु, कम्युनिस्ट पनि हुन सक्छु,’ आलेले भने, ‘अहिलेलाई म स्वतन्त्र छु ।’

तर, २८ असारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा लिन लागेको विश्वासको मतमा भने एकीकृत समाजवादीले भनेको निर्णय मान्ने आले बताउँछन् । औपचारिक रूपमा पार्टी नछाडेसम्म ह्वीप भने मान्न बाध्य भएको आले बताउँछन् । पार्टी ह्वीप नमाने पार्टीले स्पष्टीकरण सोध्नसक्ने र सांसद पदबाटै निलम्बन गर्नसक्ने भएकाले पनि आलेलगायत पाँच सांसद ह्वीप उल्लंघन नगर्ने पक्षमा छन् ।

एकीकृत समाजवादीका अर्का सांसद अब नेपाल नेतृत्वको पार्टीमा बस्नुको औचित्य सकिएको बताउँछन् । नाम नबताउने सर्तमा ती सांसदले भने, ‘पार्टीको कार्यदिशा नै सही ट्र्याकमा नभएको र अध्यक्ष नेपालले आफूखुसी एकलौटी निर्णय गर्ने गरेकाले मजस्तै धेरै साथीहरू सन्तुष्ट छैनन् ।’ जनमानसमा भन्दा पनि पार्टीका अध्यक्ष स्वार्थकेन्द्रित राजनीतिमा लागेको ती सांसदको अरोप छ ।

एमालेबाट बाहिरिएर नेकपा एकीकृत समाजवादी पार्टी गठनको औचित्य पुष्टि भएको समाजवादीका अध्यक्ष नेपालले रटान लगाउँदै आए पनि सो पार्टीभित्र तीव्र असन्तुष्टि देखिएको छ । एकीकृत समाजवादीका पाँच जना संघीय सांसद जुनसुकै बेला पनि पार्टी छाड्ने मनस्थितिमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?