काठमाडौं । वैदेशिक रोजगार विभागले कानुन विपरीत कार्य गरेका ५८४ मेनपावर कम्पनीमाथि कारबाही गरेको छ ।
विभागमा दर्ता भएका तर, ‘वैदेशिक रोजगार ऐन, २०६४’ विपरीत काम गर्दै आएका ती मेनपावर कम्पनीलाई विभागले कारबाही गरेको हो ।
यस्ता मेनपावर कम्पनीको खाता रोक्कादेखि इजाजत पत्र खारेज गर्नेसम्मको कारबाही विभागले गरेको छ । विभागमा हाल एक हजार ६०४ मेनपावर कम्पनी दर्ता भएको तीमध्ये ९८२ कम्पनीमात्रै सक्रिय रहेका छन् । केहीको नवीकरण सकिएकाले तत्कालका लागि त्यस्ता कम्पनीलाई विभागको निष्क्रिय पारेको छ ।
वैदेशिक रोजगार ऐन, २०६४’ अनुसार स्वीकृति नलिइ कामदार पठाएको, नाबालिगलाई वैदेशिक रोजगारमा पठाएको, सरकारले खुला नगरेका मुलुकमा कामदार पठाएको, लिखत वा प्रतिवेदन लुकाएको तथा हेरफेर गर्ने कम्पनीहरूमाथि विभागले कारबाही छ ।
यसको साथै अनुमतिबिना शाखा कार्यालय खोलेको, विज्ञापन प्रकाशन नगरेको, छनौट सूची प्रकाशन नगरेको, रकम फिर्ता गर्न वा क्षतिपूर्ति दिन इन्कार गरेका कम्पनीहरू र व्यक्तिगत रूपमा कामदार पठाएको, प्रवेशाज्ञा शुल्क, सेवा शुल्क तथा प्रवर्द्धन खर्च बढी लिएको, आदेश वा निर्देशन पालना नगरेको, करार विपरीत कार्य गरेका कम्पनीहरू कारबाहीमा परेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया