काठमाडौं । गृह मन्त्रालयले बर्खामा रात्रिकालीन बस सञ्चालनमा रोक लगाउने प्रस्ताव गरेको छ । नारायणगढ–मुग्लिन सडकमा आएको पहिरोले दुईवटा बस त्रिशूलीमा खसेर यात्रु बेपत्ता भएपछि गृह मन्त्रालयले यस्तो प्रस्ताव गरेको हो । यातायात व्यवसायीका प्रतिनिधिहरूसँग छलफलपछि निर्णय लिइने गृह मन्त्रालयले जनाएको छ ।
गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख एवं सहसचिव डा.भीष्मकुमार भुसालले बर्खाको समयमा रातिमा सवारी साधन सञ्चालन गर्दा थप जोखिम हुने भएकाले यो विषयमा मन्त्रालय गम्भीर भएको बताए । यातायात व्यवसायीहरू सरकारको यो प्रस्तावप्रति सहमत हुने देखिँदैन । रात्रिकालीन सेवामा रोक लगाउनु नै जोखिम न्यूनीकरणको उपाय नभएको उनीहरुको भनाइ छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले सरकारले रात्रिकालीन सेवा रोक्नुभन्दा सडक सुरक्षाका उपायमा ध्यान दिनुपर्ने बताए । उनले सेवा रोकिंदा हुने घाटा पूर्ति कसले गरिदिने भन्ने प्रश्न पनि गरेका छन् । उनले भने, ‘कुनैकुनै ठाउँमा परिस्थितिबश बन्द गर्नुपर्ने त होला तर ठप्पै पार्ने गर्नुहुँदैन ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया