काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्डको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोले बगाएर त्रिशूली नदीमा खसाएका दुईवटा बसको खोजीका लागि चुम्बक प्रयोग गरिएको छ । तर दुबै बस फेला पर्न सकेका छैनन् । पानीको चाप अत्यधिक र धमिलो भएकाले नदीको गहिराइसम्म गोताखोर पुग्न सक्ने अवस्था नभएकाले चुम्बक फालेर बसको खोजी सुरु गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
यसैगरी हुक लगाएर पनि खोजी भइरहेको छ । लामा–लामा बाँसका भाटा तथा रडको सहायताले पनि खोजी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल नेपालको गोताखोर टोली, नेपाली सेना र नेपाल प्रहरीले जानकारी पाएलगत्तै बस खोजिरहेको छ । खोजीका दागि दुई सय सु्रक्षाकर्मी परिचालन गरिएको छ । त्रिशूली नदीमा बाढीको चाप बढ्दै गएको, पानी धमिलो भएको, बस खसेको ठाउँ एकदमै अफ्ठ्यारो भएकाले खोज्न समस्या भइरहेको सशस्त्र प्रहरीले जनाएको छ । दुर्घटनास्थलबाट करिब २ सय मिटर तलसम्म गएर गोताखोरको टोलीले खोजी गरिसकेको छ ।
त्योभन्दा तल ठूलो भूमरी रहेकाले खोजीमा थप समस्या देखिएको छ । सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन शिक्षालय कुरिनटारका एसएसपी माधव पौडेलले आफ्नो कमान्डमा ७० जनाको टोली खोजी तथा उद्दारमा खटिएको र अहिलेसम्म कोही पनि फेला पार्न नसकिएको बताए । उनले बस र यात्रुहरुलाई बगाएको आशंकामा देवघाटमा समेत टोली परिचालन गरेर खोजी गरिएको बताए ।
उनले सशस्त्र प्रहरीका ३ वटा बोट र नेपाली सेनाको १ वटा बोटमार्फत गोताखोरको टोली त्रिशूली नदीमा गएर खोजी कार्य गरिरहेको पनि बताए । उनले बस नदी किनारमा पहिरोमा पुरिएको हुनसक्ने पनि आशंका गरिएको बताए । उनले अहिले नै पहिरो पन्छाएर खोज्न सक्ने अवस्था नरहेको पनि बताए सिमलतालमा आज बिहान करिब ३ बजे वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको बसलाई लेदोसहितको पहिरोले बगाएको थियो । तीन यात्रु पौडी खेलेर किनारामा निस्किएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया