काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ प्रधानमन्त्रीको नियुक्ति र शपथ आइतबार गर्ने तयारी गरेका छन् ।
शुक्रबार कांग्रेसको समर्थनमा ओलीले बहुमत सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी पेस गरेपनि नियुक्ति र शपथ भने आइतबार मात्रै हुने राष्ट्रपति कार्यालयले जनाएको छ।
‘उहाँको शपथ र नियुक्ति आइतबारमात्रै हुन्छ। त्यसअघि पेस हुन आएका निवेदनबारे राष्ट्रपतिज्यूले अध्ययन गर्नुहुन्छ,’ राष्ट्रपतिको सचिवालयले भन्यो।
प्रधानमन्त्री प्रचण्ड विश्वासको मत नपाएपछि शुक्रबार पदमुक्त भएसँगै राष्ट्रपतिले साँझ बहुमतको सरकार गठनका लागि आइतबारको समयसीमा दिएर आह्वान गरेका थिए । शपथसँगै कांग्रेस–एमालेले सानो मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।
शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल पदमुक्त भएपछि राष्ट्रपति पौडेलले संविधानको धारा ७६ ९२० बमोजिम बहुमतको सरकार गठनका लागि आह्वान गरेका थिए । त्यसलगत्तै एमाले अध्यक्ष ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई साथ लिएर राष्ट्रपति कार्यालय शितलनिवास पुगेर प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए । त्यसक्रममा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौला, पूर्वमहान्यायाधिवक्ता रमेश बडाल पनि शितलनिवास पुगेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया