काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा पहिरोमा परी त्रिशुली नदीमा वेपत्ता भएका दुई यात्रुवाहक बसको खोजीकार्य शनिबार दिनभर जारी छ ।बेपत्ता बस तथा यात्रुको शनिबार बिहानैदेखि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोरसहितको टोलीले खोजी गरिरहेको छ ।
शव र बस फेला नपरेपनि भरतपुर महानगरपालिका–२८ स्थित नारायण नदी किनारमा दुईवटा शव फेला परेको प्रहरीले जनाएको छ । फेला परेको एउटा शव सिमलतालमा पहिरोले बगाएको बसको यात्रुको भएको पुष्टि भएको छ । एउटा शव बालुवामा पुरिएको अवस्थामा र एउटा शव तैरिएको अवस्थामा भेटिएको थियो ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक भेषराज रिजालले उक्त शव बेपत्ता गणपति डिलक्सका यात्रुको रहेको पुष्टि भएको जानकारी दिए ।
घोप्टो परेको अवस्थामा शव शनिबार विहान नदी किनारामा भेटिएको हो । शवको साथमा कागजात आधारमा भारतीय नागरिक ऋषिपल साहको रहेको पुष्टि भएको छ । उनी बेपत्ता बसमै यात्रारत थिए भन्ने कुरा आएको छ । अझै अध्ययनका क्रममा छौं,’ प्रहरी नायब उपरीक्षक रिजालले भने ।
एउटा पुरुषको खुट्टामा जुत्ता भएको र शरीरमा भित्री वस्त्रमात्रै बाँकी भएको अवस्थामा भेटिएको छ । अर्को शव गाडिएको अवस्थामा भेटिएकाले प्रहरीले खनेर निकालेको छ ।भारतको मोतिहारी राजमुनुवा घर भएका २८ वर्षीय साह काठमाडौँको जोरपाटीबाट गौर जानका लागि गणपति डिलक्स चढ्ेको बताइएको छ । काठमाडौँबाट रौतहटको गौरतर्फ आउँदै गरेको गणपति डिलक्सको बस पहिरोमा परेर त्रिशूली नदीमा खस्दा बेपत्ता भएको थियो ।
सिमलतालमा पहिरो खस्दा दुई वटा यात्रुवाहक बस त्रिशूलीमा खसेको थियो । नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालबाट बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र गणपति डिलक्स नदीमा खसेका हुन् । शुक्रबारदेखि बेपत्ता बस र यात्रीको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।
एन्जल वीरगञ्जबाट काठमाडौँतर्फ र गणपति काठमाडौँबाट रौतहटको गौरतर्फ जाँदै गरेको अवस्थामा पहिरोमा परेका थिए । दुवै बसमा गरी करिब ६५ यात्री रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रिजालले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया