त्रिशुली नदीमा बेपत्ता बस र यात्रु खोज्न सोनार क्यामरा प्रयोग, गोलाघाटसम्म खोजी गरिने

लोकपथ
980
Shares

काठमाडौं । त्रिशुली नदीमा दुर्घटना भई बेपत्ता भएको यात्रुसहितको दुई बस खोजीकार्यका लागि सशस्त्र प्रहरी बल नेपालका ९० जनाको सुरक्षा फौज परिचालन गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ११ जना गोताखोरसहित ४५ जनाको टोलीले सोनार क्यामरा प्रयोग गरी घटनास्थलदेखि नारायणी नदीसम्म खोजीकार्य गर्नेछ ।

त्यस्तै अर्को सर्च टोलीले यसअघि प्रयोग भएका विभिन्न डिभाइसहरुको प्रयोग गरी घटनास्थलदेखि १ किलोमिटर तल तथा (भरतपुर महानगरपालिका–१६ स्थित देवघाटदेखि ज्ञानेश्वर सामुदायिक वनसम्म) खोजीकार्य गर्नेछ । त्यसैगरी नं. १७ गण चितवनबाट ११ जना विपद् व्यवस्थापन तालिम प्राप्तसहित ४५ जनाको सुरक्षा फौज घटनास्थलदेखि ४० किलोमिटर तल गोलाघाटसम्म र्‍याफ्टिङ बोट र नदी किनारामा पैदलगस्ती गर्दै खोजीकार्यको लागि परिचालन भएको छ ।

अविरल वर्षाको कारण नदीमा आएको भेल र धमिलो पानीले गर्दा सोनार क्यामरा र अन्य डिभाइसहरुको प्रयोग गर्दा समेत बेपत्ताहरुको खोजीकार्य गर्न असहज भएको बताइएको छ । यी डिभाइसहरु सफा पानी तथा ताल र पाखेरीमा जमेको पानीमा खोजीकार्यको लागि प्रयोग गरिन्छ ।

असार २९ गते बेपत्ता भएको बस तथा यात्रुहरुको खोजीको लागि खटिएको सुरक्षा फौजले ३ वटा शव फेला पारेको थियो । खोजीकार्यमा नेपाली सेना र नेपाल प्रहरी समेत परिचालित रहेका छन् । वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको डिलक्स र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–०११ ख २५९५ नम्बरको बस भरतपुर महानगरपालिका–२९ सिमलताल असार २८ गते बिहान त्रिशुली नदीमा खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?