मासिक १५ हजार तलब खाने एयर अरेबियाका कर्मचारीले कसरी जोडे १० करोडभन्दा बढीको सम्पत्ति ?

प्रहरीले खोजेपछि राजीनामा गराएर विदेश भगाइयो

काठमाडौं । काठमाडौंमा एक व्यक्तिलाई परिवारसहित बाँच्न कति रकम लाग्ला ? न्युनस्तरको दैनिकी चलाउन पनि मासिक कम्तीमा ३५ हजार रुपैयाँ खर्च हुन्छ । अझ फ्ल्याट भाडामा लिएर विलासी जीवन बिताउन मासिक कति रकम चाहिएला ? पैतृक सम्पत्ति पनि नभएको मासिक तलबबाहेक आम्दानीको अन्य श्रोत नभएको व्यक्तिले छोरीको पास्नीसमेत बानेश्वरको भव्य बैंक्वेटमा मनाउन कति कमाउनुपर्ला ?

तर एयर अरेबियामा न्यूनतम तलबमान भन्दा पनि कम तलब खाने एक सामान्य कर्मचारीको सम्पत्ति र विलासी जीवनशैली भने अचम्मको पाइएको छ । एयर अरेबियाको काठमाडौंस्थित कार्यालयमा लोकल स्टाफको रूपमा जागिर खाने एक व्यक्तिले भने करिब ३ वर्षको अवधिमै १० करोड रुपैयाँभन्दा बढी सम्पत्ति जोडेका मात्रै छैनन्, उनको विलासी जीवनशैली पनि अचम्मकै रहेको पाइएको छ ।

ती व्यक्ति हुन्, जीवन न्यौपाने । एयर अरेबियाको काठमाडौंस्थित कार्यालयमा लोकल स्टाफको रूपमा रही सिएसए अर्थात् कष्टमर सर्भिस एजेण्ट रहेका रुपन्देहीको गैडहवा गाउँपालिका ८ का न्यौपानेले पछिल्लो ३ वर्षको अवधिमा मात्रै झन्डै १० करोड रुपैयाँको सम्पत्ति जोडेको पाइएको छ । न्यौपानेले आफन्तहरूको नाममा घर जग्गा खरिद गरी सम्पत्ति जोडेको पाइएको छ ।

तस्वीर : जीवन न्यौपानेको फेसबुकबाट

तर अचम्मको कुरा के छ भने न्यौपाने एयर अरेबियामा मासिक १५ हजार रुपैयाँ मात्रै तलब बुझ्थे । तलब बढ्दै जाँदा न्यौपाने तलब मासिक २० हजार रुपैयाँ मात्रै भएपनि उनले पछिल्लो तीन वर्षको अवधिमा अवैधरुपमा १० करोडभन्दा बढी रकमको सम्पत्ति जोडेका हुन् । प्रहरीको अनुसन्धानमा न्यौपानेले उक्त रकम मानव तस्करीमा सहयोग गरेबापत प्राप्त गरेको पाइएको हो । काठमाडौंबाट दुबईमार्फत हुने भिजिट भिसाबाट मानव तस्करी प्रकरणमा एयर अरेबियाका कर्मचारी जीवन न्यौपानेको प्रत्यक्ष संलग्नता रहेको पाइएको हो । मानव तस्करीमा न्यौपानेको संलग्नता रहेको पाइएपछि प्रहरीले खोजी सुरु गरेपछि न्यौपाने भने काठमाडौंबाट भागेर विदेश पुगेका छन् । न्यौपानेले नेपाल छाडेपछि मात्रै प्रहरीले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर खोजीको सूचीमा राखेको छ ।

यसरी खुल्यो मानव तस्करीमा एयर अरेबियाका कर्मचारी न्यौपानेको संलग्नता
काठमाडौंबाट दुबई हुँदै गत वर्षको असोज १ गते मानव तस्करको समूहले रसिया पुराइएका कपिलवस्तुका इमानसिंह सुनार रसियाबाट भागेर नेपाल फर्किएपछि मानव तस्करीमा एयर अरेबियामा कर्मचारीको समेत संलग्नता खुलेको हो । एयर अरेबियामा कस्टमर सर्भिस एजेण्ट रहेका जीवन न्यौपानेको संलग्नताबारे पक्राउ परेकाहरूले दिएको बयानपछि पोल खुलेको हो ।

नेपाल सरकारले भिजिट भिसामा बाहिर जानका लागि दुईतर्फी हवाई टिकट अनिवार्य गरेको थियो । तर मानव तस्करको समूहले प्रतिव्यक्ति १० देखि २० हजार रुपैयाँ एयरलाइन्स र त्यहाँका कर्मचारीलाई दिएर एकतर्फीको मात्रै सक्कली टिकट बनाई पठाउने गरेको पाइएको हो । सेटिङमा हुने मानव तस्करीमा अधिकांश नक्कली टिकट एयर अरेबियाबाट काटेको पाइएको छ । एयर अरेबियाकै कर्मचारीसँगको मिलेमतोमा तस्कर समूहले दुबईबाट नेपाल फर्कनका लागि बनाएको टिकट नक्कली हुने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

एयर अरेबियाका कर्मचारीहरू त्रिभुवन विमानस्थलको बोर्डिङ पास दिने स्थानमा बसेर एकतर्फीको सक्कली र एकतर्फीको नक्कली टिकट भएपनि उनीहरूलाई बोर्डिङ पास दिने गरेका थिए । त्यसरी बोर्डिङ पास दिँदा प्रतिव्यक्ति १५ देखि २० हजार रुपैयाँ लिने गरेको पाइएको थियो । उक्त रकम विमानस्थलमा काम गर्ने कर्मचारी र एयरलाइन्सकै कर्मचारीले बाँडेर लिने गरेको पक्राउ परेका केही प्रतिवादीले बयान दिएका थिए ।

यसरी खुल्यो एयर अरेबियाको संलग्नता
भिजिट भिसामार्फत हुने मानव तस्करी प्रकरणमा एयर अरेबियाका कर्मचारीको संलग्नताबारे गत कात्तिक महिनामै जानकारीमा आएको थियो । गत कात्तिक महिनामा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अध्यागमनका अधिकृत नरवीर खड्का लगायतका व्यक्तिहरुलाई पक्राउ गरी अनुसन्धान सुरु गरेलगत्तै मानव तस्करीमा एयरलाइन्स कम्पनी र त्यसका कर्मचारीहरू पनि संलग्न हुने गरेको पाइएको थियो । यद्यपि मानव तस्करी प्रकरणमा पहिलो चरणमा सरकारी कागजात किर्तेको कसुर मुद्दा चलाइएकामा ट्राभल एजेन्सी र तस्कर समूहका सदस्य मात्रै रहेका थिए । मानव तस्करी प्रकरणमा एयरलाइन्स कम्पनीहरूको समेत संलग्नता हुने गरेको सूचना आएपनि प्रमाणले पुष्टि गर्न नसक्ने भएपछि त्यतिबेला एयरलाइन्सका कर्मचारीविरुद्ध मुद्दा दायर भएको थिएन ।

गत असोज १ गते काठमाडौंबाट एयर अरेबियाको उडानमार्फत दुबई हुँदै रसिया पुगेका इमानसिंह सुनारले आफू मानव तस्करको फन्दामा परी रसिया पुगेर र त्यहाँ मृत्युको मुखमा पुगेपछि भागेर नेपाल आएको भन्दै उनले प्रहरीमा जाहेरी दिएका थिए । जिल्ला प्रहरी परिसर काठमाडौंमा दिएको जाहेरीमा आफूलाई तेह्रथुमका शंकर लिम्बुले झूटो आश्वासन देखाई रसियन सेनामा पठाएको उल्लेख थियो । सोही जाहेरीका आधारमा अनुसन्धान हुँदा मानव तस्करी प्रकरणमा एयर अरेबियाका कर्मचारी जीवन न्यौपानेको पनि संलग्नता खुलेको थियो ।

कसरी भएको थियो मानव तस्करी र भिजिट भिसामा सेटिङ ?
इमानसिंह सुनार प्रहरी वृत्त गौशालामा प्रहरी जवानका रूपमा कार्यरत थिए । कामकै सिलसिलामा सुनारको भेट हुन्छ, शंकर लिम्बुसँग । लिम्बुले सुनारलाई रसिया गएर फ्याक्ट्रीमा काम गरे मासिक ३ लाख रुपैयाँसम्म कमाई हुने लालच देखाउँछन् । तर रसिया लैजान ४ लाख रुपैयाँ खर्च हुने सुनाउँछन् मासिक ३ लाख रुपैयाँ कमाई हुने भएपछि प्रहरी जवान सुनार रसिया जान तयार हुन्छन् । काम सुरु गर्न भन्दै सुनारले लिम्बुलाई सुरुमा २० हजार रुपैयाँ दिन्छन् ।

पहिलो चरणमा सुनारले लिम्बुलाई २० हजार रुपैयाँ दिएर नक्कली कागजात निर्माणको काम सुरु हुन्छ । नक्कली कागजात बनिसकेपछि हवाई टिकट काट्न भन्दै सुनारसँग लिम्बुले १ लाख १० हजार रुपैयाँ लिन्छन् । त्यसपछि युएईको भिसा र विदेशको सेटिङ मिलाउन भन्दै सुनारले लिम्बुलाई अर्को एक लाख रुपैयाँ पनि दिन्छन् । टिकट र भिसा पनि तयार भएपछि उड्ने प्रयोजनका लागि एयरपोर्ट र अध्यागमनमा मिलाउने भन्दै सुनारसँग थप एक लाख ४० हजार रुपैयाँ लिइन्छ । यसरी कुल ३ लाख ७० हजार रुपैयाँ सुनारसँग लिइन्छ र रुसको मस्कोमा एकजना मान्छे लिन आउने र उसलाई ४ सय अमेरिकी डलर दिनुपर्ने कुरा भनिन्छ ।

बिचौलिया शंकर लिम्बुले भनेको सबै मानी प्रक्रिया समेत पूरा गरी सुनार २०८० असोज १ गते रसिया पुग्छन् । तर नेपालमा हुँदा भनिएको जस्तो काम र तलब रसियामा थिएन । फ्याक्ट्रीमा काम गर्ने भनिएपनि काम फ्याक्ट्रीमा नभएर रसियन सेनामा थियो र युक्रेनसँग युद्ध लड्ने प्रयोजनका लागि सुनारलाई रसिया पुराइएको थियो ।

भनेको जस्तो काम नभई ज्यान नै जोखिममा पर्ने भएपछि सुनारले सुरुमै भाग्ने प्रयास गरेका थिए, तर रसियन सेनाको क्याम्पभित्र भएको कारण उनी भाग्न पाएनन् । १५ दिनको सैन्य तालिम र हतियारको प्रयोगसम्बन्धी तालिम लिएपछि सुनार रुसको तर्फबाट युक्रेनमा युद्ध लड्न पुगे । युद्धकै क्रममा युक्रेनी सेनाले गरेको ड्रोन हमलामा सुनार घाइते भए । रसियन सेनाले उनलाई उपचारका लागि अस्पताल पु¥यायो । केही समय अस्पतालमा उपचार गरेपछि उनी त्यहाँबाट भागेर राजधानी मस्को आइपुगे र नेपाली दूतावासमा गएर कागजात तयार पारेपछि उनी नेपाल फर्किए । नेपाल फर्किएलगत्तै सुनारले आफूलाई झूटो आश्वासन दिएर तस्करी गरी रसिया पुराइएको भन्दै शंकर लिम्बुविरुद्ध मानव बेचबिखनमा उजुरी दिए । उजुरी लगत्तै जिल्ला प्रहरी परिसर काठमाडौंले शंकर लिम्बुलाई पक्राउ गर्यो ।

लिम्बुले आफूले इमानसिंह सुनारलाई रसियासम्म जाने व्यवस्था गरिदिएको तर सेनामा काम नलगाइदिएको दाबी गरेपनि अनुसन्धानका क्रममा शंकर लिम्बु र गोविन्द रिमालको संलग्नता देखिएपछि प्रहरीले गोविन्द रिमाललाई समेत पक्राउ ग-यो । गोविन्द रिमाल अध्यागमनका कर्मचारीसँग मिलेर मानव तस्करीको सेटिङ गर्ने व्यक्ति भएकाले शंकर लिम्बुले गोविन्द रिमालमार्फत नै तस्करीको काम गर्दै आइरहेका थिए । गोविन्द रिमालले अध्यागमन कार्यालयका अधिकृत नरवीर खड्का र ट्राभल व्यवसायी रविन घिमिरेसँग मिलेर मानव तस्करी गरेको बयान दिए । सोही बयानको आधारमा ट्राभल एजेन्सी सञ्चालक रविन घिमिरे पनि पक्राउ परे ।

मुस्ताङ इमिरेट्स ट्राभल एण्ड टुर्सका सञ्चालक रहेका रविन घिमिरेले पनि आफ्नो बयानमा गोविन्द रिमालसँग आफ्नो चिनजान रहेको, मुस्ताङ इमिरेट्स ट्राभल्स एण्ड टुर्समा काम गर्ने क्रममा चिनजान भएको र उनले नै सेटिङका लागि भन्ने गरेको बताए । त्यसबापत आफूले टिकटबाहेकको ६१ हजार रुपैयाँ लिएर सेटिङ गर्ने गरेको बयान दिए । सेटिङका लागि लिएको ६१ हजार रुपैयाँमध्ये अध्यागमन विभागका कर्मचारी राम स्वर्णकारलाई प्रतिव्यक्ति २८ हजार रुपैयाँ दिनुपर्ने, एयर अरेबियाका कर्मचारी जीवन न्यौपानेलाई प्रतिव्यक्ति २० हजार रुपैयाँ दिनुपर्ने भनी बताएका थिए ।

हेर्नुहोस्, रविन घिमिरेले प्रहरीलाई दिएको ततिम्बा बयानको अंश

अध्यागमन कार्यालयका अधिकृत नरवीर खड्का त्यसअगाडि नै पक्राउ परिसकेका व्यक्ति भएकाले उनलाई पनि सोधपुछ गरियो । उनले इमानसिंह सुनारको विषयमा केही थाहा नभएको बताए । तर अनुसन्धानका क्रममा गोविन्द रिमालले नरवीर खड्काको मोबाइलमा इमानसिंह सुनारको नाम तथा फोटो पठाएको र नरवीरको बहिनीको बैंक खातामा ५० हजार रुपैयाँ जम्मा गरिदिएको समेत पाइयो ।

गोविन्द रिमालले आफ्नो मोबाइलमा नरवीर खड्काको नाम Gnsp immi भनी सेभ गरेका थिए । विदेश जाने र सेटिङ गर्नुपर्ने व्यक्तिको नाम खड्काले प्रयोग गर्ने मोबाइलको ह्वाट्सएपमा फरवार्ड गरिन्थ्यो । गोविन्दले सुनारको फोटो सहितको विवरण पठाएको, गोविन्दले आफूसँगै काम गर्ने राजीव चापागाईँको नबिल बैंकको खाताबाट नरवीर खड्काको बहिनी भावना खड्काको नाउमा नेपाल बैंक लिमिटेडमा रहेको खाता नम्बर ०९११३००७४४०७२७XXXXX१ मा १८ जुलाई २०२३ मा ५० हजार रुपैयाँ ट्रान्सफर समेत गरिएको पाइएको थियो । यी तथ्य र प्रमाणले नरवीर खड्काको संलग्नता समेत पुष्टि भइसकेको थियो ।

प्रहरीले जोगाइदियो एयर अरेबियाका कर्मचारी न्यौपानेलाई
इमानसिंह सुनार पीडित रहेको मानव तस्करी प्रकरणमा पोल बयान भएका दुई जनालाई भने प्रहरीले तत्कालीन समयमा जोगाएको देखिन्छ । रविन घिमिरेले आफ्नो बयानमा एयर अरेबियाका सिएसओ अर्थात् कष्टमर सर्भिस एजेण्ट जीवन न्यौपाने र अध्यागमन विभागका शाखा अधिकृत राम स्वर्णकारको समेत मानव तस्करीमा संलग्नता रहेको पोल बयान गरेका थिए । त्यसअघि नै १४–१५ जनालाई भिजिट भिसाको नाममा सेटिङमार्फत रसिया पठाइसकेको र यी दुई जनाको सहयोगमा सेटिङ हुने गरेको बयान दिएको भएपनि तत्कालीन समयमा प्रहरीले ती दुई जनाको यकिन नाम र ठेगाना नखुलेको भन्दै प्रतिवादी नै बनाएको थिएन ।

तस्वीर : जीवन न्यौपानेको फेसबुकबाट

एयर अरेबियाका कर्मचारी न्यौपानेले यसरी गर्थे मानव तस्करीमा सेटिङ
नेपाल सरकारले जारी गरेको एकीकृत निर्देशनमा भिजिट भिसामा विदेश जानका लागि निश्चित मापदण्ड तोकिएको थियो । कम्तीमा प्लस टु पास गरेको हुनुपर्ने, वार्षिक कम्तीमा ५ लाखको आम्दानी भई बैंक खातामा कम्तीमा २ लाख ५० हजार रुपैयाँ मौज्दात हुनुपर्ने, कन्फर्म भएको दुईतर्फी हवाई टिकट हुनुपर्ने लगायतको व्यवस्था गरेको थियो । युएई लगायतका देशमा उडान भर्ने एयर अरेबिया बजेट एयरलाइन्स भएको र नन रिफन्डेबल टिकट विक्री गर्ने गरेको कारण त्यहीँ चलखेल र सेटिङ हुने गरेको थियो । सेटिङमार्फत दुबई पुग्ने अधिकांश व्यक्तिको टिकट एयर अरेबियाबाटै काटिएको हुन्थ्यो । त्यसका लागि एयरलाइन्स कम्पनीले पहिले नै एयर अरेबियाका कर्मचारीसँग मिलेर नेपालबाट दुबई जाने कन्फर्म टिकट काटिन्थ्यो भने उताबाट फर्कने टिकट नक्कली बनाइने गरिएको थियो । दुईतर्फीकै टिकट कन्फर्म हो कि होइन भन्ने कुरा सम्बन्धित एयरलाइन्स कम्पनीलाई मात्रै थाहा हुन्थ्यो । उनीहरूले कन्फर्म टिकट हो भनेर पास दिएपछि अध्यागमन कार्यालयमा बाँकी प्रक्रिया सुरु हुन्थ्यो ।

तर सेटिङमै टिकट विक्री गरी सेटिङमै बोर्डिङ पास दिने गरेकाले एयर अरेबियाले केही कर्मचारीलाई कष्टमर सर्भिस एजेण्ट अर्थात् सिएसओका नाममा विमानस्थलमा जिम्मेवारी दिने गरेको थियो । उनीहरूको काम भनेको सेटिङमार्फत आएका व्यक्तिहरूलाई एकतर्फी मात्रै टिकट काटेको भएपनि दुबई उड्न सहजीकरण गर्ने थियो । सोही कामका लागि एयर अरेबियाले जीवन न्यौपानेलाई मासिक १५ हजार रुपैयाँ तलब दिएर सिएसओको जागिर दिएको थियो ।

न्यौपानेले विभिन्न ट्राभल एजेन्सी, दलाल आदिमार्फत प्रतिव्यक्ति २० हजार रुपैयाँ लिने गर्दथे र नेपाल सरकारको १७ बुँदे निर्देशन विपरीत एकतर्फी मात्रै हवाई टिकट भएकाहरूलाई नक्कली हवाई टिकटको आधारमा दुबई लगायतका सहरमा उड्नका लागि बोर्डिङ पास उपलब्ध गराउँथे ।

इमानसिंह सुनार दुबई उड्नका लागि बनाइएको हवाई टिकट

जीवनबारे प्रहरीले एयर अरेबियालाई सोधे लगत्तै फरार भए आरोपित
भिजिट भिसामार्फत हुने मानव तस्करी प्रकरणमा एयर अरेबियाका कर्मचारी जीवन न्यौपाने समेतको संलग्नता रहेको पाइएपछि प्रहरीले सुरुमा एयर अरेबियालाई पत्र लेखेर जीवन न्यौपानेका सम्बन्धमा सोधेको थियो । गत पुस १२ गते जिल्ला प्रहरी परिसर, काठमाडौंले एयर अरेबियालाई पत्र लेख्दै जीवन न्यौपाने त्यहाँको कर्मचारी हो कि होइन, निजको बाबु, बाजे आदिको नाम र ठेगाना तथा सम्पर्क नम्बरसमेत उपलब्ध गराइदिन भनेको थियो । प्रहरीको पत्र एयर अरेबियाले सोही दिन बुझेको थियो ।

प्रहरीले पठाएको पत्र

तर एयर अरेबियाले प्रहरीको पत्र बुझेको दिन नै जीवन न्यौपाने फरार भए । एयर अरेबियाले जिल्ला प्रहरी परिसर काठमाडौँलाई पत्र पाएको भोलिपल्ट अर्थात् पुस १३ गते नै जवाफ लेखी जीवन न्यौपाने कष्टमर सर्भिस एजेण्ट रहेको भन्दै ठेगाना र मोबाइल नम्बरसमेत उपलब्ध गराएको थियो ।

तर जिल्ला प्रहरी परिसर, काठमाडौंले जीवन न्यौपानेलाई प्रतिवादी बनाएन । काठमाडौं जिल्ला अदालतमा पुस १६ गते मानव बेचबिखनको मुद्दा दर्ता हुँदा पुस १३ गते नै सबै कुरा खुली आएको भएपनि जीवन न्यौपानेको यकिन ठेगाना नखुलेको भनी उनलाई प्रतिवादी नबनाई सरकारी वकिल कार्यालयमा मुद्दा बुझाइयो । प्रहरीले जीवन न्यौपानेलाई मात्रै प्रतिवादी बनाएन, अध्यागमन कार्यालयमा शाखा अधिकृत रहेका सरकारी कर्मचारी राम स्वर्णकारको पनि यकिन ठेगाना नखुलेको भन्दै मुद्दा दर्ता गरिएन ।

त्यसको दुई महिनापछि अर्थात् २०८० पुसको १८ गते मात्रै प्रहरीले जीवन न्यौपानेको सम्बन्धमा थप अनुसन्धान गरी पक्राउ गर्नुपर्ने सूचीमा राखेर अदालतबाट पक्राउ अनुमति लिएको पाइएको छ । प्रहरीले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिनुभन्दा अगाडि नै न्यौपाने भने नेपालबाट भागेर युएई पुगिसकेका थिए ।

एयर अरेबियाले भन्यो, ‘न्यौपानेले २०२३ डिसेम्बरमै राजीनामा दिए’
जीवन न्यौपानेको सम्बन्धमा लोकपथ डटकमले एयर अरेबियाको काठमाडौंस्थित कार्यालयसँग बुझ्दा उनी सन् २०१४ को नोभेम्बरदेखि जागिर खाएको पाइएको छ । सन् २०१४ को नोभेम्बरबाट जागिर सुरु गरेका न्यौपानेले २०२३ को डिसेम्बर महिनामा राजीनामा बुझाएका छन् । उनले राजीनामा दिएको समयमा उनको मासिक तलब १५ देखि २० हजारको रेन्जमा रहेको एयर अरेबियाको नेपालस्थित कार्यालयले जनाएको छ । न्यौपानेसँग कति सम्पत्ति छ भन्ने कुरा कम्पनीको जानकारीमा नरहेको र उनले किन राजीनामा बुझाए भन्ने कुरा पनि थाहा नभएको कम्पनीले जनाएको छ । मानव तस्करीमा न्यौपानेको संलग्नताबारे एयर अरेबियालाई केही थाहा नभएको र प्रहरीको पत्र आउनु र उनले राजीनामा दिएको समय एक दुई दिनको फरकमा रहेको एयर अरेबियाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?